दुर्लभ चन्द्रग्रहण : असर अनिष्टकारक हुन सक्ने

दुर्लभ चन्द्रग्रहण : असर अनिष्टकारक हुन सक्ने


आज राती हुने चन्द्रग्रहण शताब्दिकै दुर्लभ घटना मानिएको छ । राती १२ बजेर ९ मिनेट जाँदा शुरु हुने खग्रास चन्द्रग्रहण तीन घण्टा ५७ मिनेट लामो समयसम्म रही विहान ४ बजेर ६ मिनेटमा अन्त्य हुनेछ । ग्रहणको पूर्ण असर १ बजेर १५ मिनेटदेखि २ बजेर ९ मिनेट जाँदासम्म रहने छ ।

चन्द्रमाको रङ्ग ग्रहणको समयमा रातो देखिने र रातो चन्द्रमा देखिएमा त्यसका केही नकारात्मक असर पर्ने ज्योतिषशास्त्रीहरूको भनाई छ । सम्बद्ध विज्ञहरूका अनुसार ग्रहणको प्रभाव गलत काममा संलग्नहरू र राजनीतिक क्षेत्रलाई नकारात्मक पर्नेछ । त्यस्तै जीवजन्तुमा जलचर खासगरी माछालाई एक प्रकारको असहजता पैदा हुनेछ ।

केही समयपछि पानीका मुहानहरूमा न्युनता हुने र पिउने पानीको अभाव हुन सक्ने बताइन्छ । विगतमा रातो चन्द्रमाको असरस्वरुप अगलबगलमा युद्धसमेत भएको ज्योतिषिहरूको भनाई छ । तर ब्यापारिक र सञ्चारको क्षेत्रमा भने विकास हुने बताइन्छ ।

यो ग्रहण मेष, सिंह, वृश्चिक र मीन राशिकाले हेर्दा शुभ हुने, बाँकी अन्य वृष, मिथुन, कर्कट, तुला, धनु, मकर, कुम्भ र कन्या राशिका निम्ति अशुभ रहने ज्योतिषीहरूको भनाई छ ।

कुन राशिलाई कस्तो प्रभाव ?

मेष : मनअनुकुलको कार्यमा सफलता मिल्ने र मान बढ्ने ।

वृष : भाग्यबर्धक कार्य बढ्ने, तर केही अपयश आउन सक्ने ।

मिथुन : शारीरिक, आर्थिक र न्यायिक कष्ट बढ्न सक्ने ।

कर्कट : ब्यापारिक साझेदार तथा पति–पत्नीबीच मनमुटाव उत्पनन हुन सक्ने, तर धन र मानचाहिँ बढ्न सक्ने ।

सिंह : ऋण, रोग र शत्रुसँग लड्न प्रतिरोधात्मक क्षमता बढ्ने ।

कन्या : प्रेम, सन्तान, इष्टमित्रको वृद्धि । केही तनाव भए पनि विद्या र बुद्धिमा पनि अभिवृद्धि हुने ।

तुला : धन र मान घट्ने, शारीरिक कष्ट बढ्ने ।

वृश्चिक : इष्टमित्रको सहयोग रहने । श्री प्राप्ति हुने । ऐश्वर्य वृद्धि हुने र दूरदेशबाट काम बन्ने ।

धनु : वार्तामा सफलता, धन खर्च हुने, गौरव बढ्ने ।

मकर : राशिमै ग्रहण परेको हुँदा कष्ट बढ्ने, घात हुन सक्ने ।

कुम्भ : खर्च बढ्ने, विलासितामा समय र धन खर्च गराउने, विदेश यात्रा गराउने ।

मीन : लाभ वृद्धि हुने, रोकिएको धन प्राप्त हुनसक्ने ।