खाइदेऊ न महाराज… कोदो-कोइरालो !

63 Shares

– राजेन्द्रप्रसाद पाठक

शरीरको आकार र स्वभाव फरक देखिए पनि बाघ र बिरालोको अनुहार उस्तै हुन्छ । बाघले आँक्न नसक्ने शिकार अत्यन्तै न्यून छ भने बिरालोको हकमा मुसा र कुखुरा नै अन्त्तिम हो । तर खाना र आवरणमा भने बाघ जस्तै बन्न रुचाउँछ बिरालो पनि । बाघ मौलिकतामा सम्झौता गर्दैन तर बिरालोको भने नितान्त भिन्न चरित्र हुन्छ । यस्तै, शक्ति–क्षमता भएका र नभएका, उच्च तवरको सामाजिक जीवनयापन गर्ने र सो गर्न नसक्ने बीचको सकारात्मक र नकारात्मक द्वन्द्व नै आजको मानव समाजको मुख्य चुनौती हो । त्यति मात्र नभई समाजमा एउटा नमूना वर्ग हुन्छ । केही कुराहरू जानी–नजानी, प्रत्यक्ष–परोक्ष, पुर्वाग्रह राख्दै वा विनापुर्वाग्रह यस्तो वर्गको रहनसहन, लवाइखवाइ, बोलाइ–चलाई साथै खानपिन शैलीको अनुकरण अन्य सामान्य जीवनयापन गर्नेहरूले समेत नक्कल गर्ने गरेको विषयमा दुईमत नहोला ।

भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले वातावरणीय अनुकुलतालाई ख्याल राख्दै कोटको पहिरनलाई केही परिमार्जन गरेर बाहुला नभएको कोटको चलनचल्ती गरे । त्यसैलाई कालान्तरमा जवाहरीकोट नाम राखियो । यसैगरी, हेर्दा जवाहरीकोट जस्तै तर केही परिमार्जित कोट भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले प्रयोगमा ल्याए, यस कोटलाई हाल मोदीकोट भनिन्छ । यसले दक्षिण एसियाको फेसनमा मात्रै होइन जहाँ–जहाँ प्रधानमन्त्री मोदी भ्रमण गर्दछन् सो स्थानमा यसको ब्यापकता छाउने गरेको देखिँदै छ । गेरुवावस्त्र अथवा भगवा रंगसमेत भाजपाकै कारण ब्याप्त भएको हो । चुरीदार पञ्जावी कुर्ता सलवार पनि राजा–महाराजाहरूको फेसन भएकै कारण ब्याप्त भएको छ ।

उच्च वर्गले आलिसान बंगला छोडेर कटेजको बास रोज्थे या सामान्य जीवनशैली अपनाउँथे भने यो समाजको भौतिक जगतप्रतिको अस्वस्थ प्रतिष्पर्धामा कमी आउने थियो । तिनले खाजा–खानामा खोलेफाँडो, कोदो–कोइरालो, गहत, मकै भटमास, रोटी, ढिँडो, आटो आदि खाएको प्रत्यक्ष प्रसारण गर्न सके समस्त जनसमुदायमा जीवनशैली खानपान, रहनसहनमा परिवर्तन आउने थियो ।

जसरी फेसनको ब्यापकता भयो उसैगरी नबाबहरूले खाने कवाफ, विरियानी, नान, रुमालीरोटी हुँदै नेपालका राजा–महाराजाहरूले खाने राजभोग, मनभोग, कृष्णभोग, वासमती चामल त्यसलाई पनि राम्रोसंग फलेर उजिल्याएको नरम र वासनादार खाना, यसैगरी फलफुलहरूमा मालभोग केरा, अनार, अंगुर, स्याऊ, फरपिङको नासपाती आदि । भाँडाकुँडाहरूमा पाल्पाली हुक्का करुवा, पाटनका काँस चरेसका भाँडा भक्तपुरे माटाको सुराही, नुवाकोटे हाँडी, गाग्रा । फेसनमा भादगाउँले कालो टोपी, पाल्पाली ढाका टोपी, भेडासिँगे ढाकाको दौरासुरुवाल, भेला अथवा लेनेनको दौरा सुरुवाल, बाटा कम्पनीको जुत्ता यी सबैको ब्राण्डिङ हुनेखाने वा ठुलाठालुले प्रयोगमा ल्याएरै भएको थियो ।

यसैगरी वायुपंखी अरबी घोडा देखी चौघोडे बग्गी हुँदै हालको भक्सवागन, मर्सिडीज, ल्याम्वोर्गेनी, फरारीसम्मको सवारीका घोसित अघोसित ब्राण्ड एम्बेस्डर पनि तिनै हुनेखानेहरू नै हुन् । जनकविहरूले कविता भनौँ वा गीतमा पस्किएका छन्– ‘हुनेले खाने घिउ–मार्सी चामल सातपल्ट फलेको, गरिवले खाने कोदो–कोइरालो जाँतोमा दलेको ।’

मानिसको जीवनयापन गर्ने शैली, रहनसहनमा ठूलै फेरबदल आएको छ । आलिसान जीवनपद्दतिले गर्दा मानव विभिन्न रोगको शिकार बन्न पुगेको छ । परिस्थितिले गरिवले खाने कोदो–कोइरालो नै उत्कृष्ट भोजन हो भन्ने प्रमाणित भैसकेको आजको अवस्थामा खानपान र रहनसहन दुबैमा आकाश–जमिनको वदलाव आएको छ । यद्यपि, अधिकांश पहाडी र अनकण्टार बस्तीमा पुरानै मानसिकता हावी भएका कारण समय–समयमा खानाको अभाव भएका समाचारहरू सुनिन्छ । यसो हुनुमा अन्नको अभाव भएर हुनु अलग समस्या हो । तर अन्नको अभावचाहिँ नभएको र चामलको अभावलाई मात्र खाद्यान्नको अभाव भन्ने गरेका कारण यस्तो हुन गैरहेको अवस्था पनि छ ।

स्वास्थका हिसावले अत्यन्तै पोषण तत्व भएको अन्न वा दलहन बाली उत्पादन गर्न हामी समर्थ छौँ । तर त्यसको उचित ब्राण्डिङ नभएको र यसप्रतिको जनचेतनाका अभावका कारण जसरी कस्तुरी मृग आफ्नै नाभीमा वासनाको पोको बोकेर सोही वासना कहाँबाट आएको हो भन्ने खोजी गर्दै पत्तो पाउन नसकेर भौंतारिइरहेको हुन्छ, त्यसैगरी हामी पनि स्वस्थ खानाको खोजीमा भौँतारिइरहेका छौँ ।

त्यसैले हाम्रा परम्परागत खाना र हावापानी, भौगोलिक स्थानििशेषका बाली–उब्जनीहरूलाई स्वादअनुसार परम्परागत वा आधुनिक शैलीमा तयार गरेर खानाले न त हामीलाई अभाव महसुस हुन्छ न त आयात गरेर चामलकै आपुर्ति गरिनुपर्ने अवस्थाको श्रृजना हुन्छ । यसले हाम्रो बढ्दो आयात प्रतिस्थापन हुने र हाम्रो आन्तरिक परिपूर्तिले स्वास्थमा समेत हानी नहुने, साथै हाम्रा परम्परागत उत्पादन लोप भएर जाने अवस्थाबाट उन्मुक्ति प्राप्त गर्न सकिने छ । मानव स्वास्थका हिसावले अत्यन्तै पोषण तत्व भएको अन्न वा दलहन बाली उत्पादन गर्न हामी समर्थ छौँ । तर त्यसको उचित ब्राण्डिङ नभएको र यसप्रतिको जनचेतनाका अभावका कारण जसरी कस्तुरी मृग आफ्नै नाभीमा वासनाको पोको बोकेर सोही वासना कहाँबाट आएको हो भन्ने खोजी गर्दै पत्तो पाउन नसकेर भौंतारिइरहेको हुन्छ, त्यसैगरी हामी पनि स्वस्थ खानाको खोजीमा भौँतारिइरहेका छौँ ।

हाम्रा अनगिन्ती जडीबुटी, स्थानीय अन्न र दलहन बाली मानव–स्वास्थअनुकुल छन् । त्यति मात्रै नभएर ती त हाम्रा लागि अमृतपान गरेसरह हुन्छन् । यसको समुचित उपयोग र यसलाई खाने र प्रयोग गर्ने हिच्किचाहटबाट समाजलाई उन्मुक्ति दिनकै लागि भने पनि समाजका उच्च, घरानियाँ र एलिट समुदायबाट नै यसको उचित प्रवद्र्घन हुन सके स्वास्थमा प्रतिकुल असर पार्ने हाइब्रिड अन्न जो अन्य देशबाट आयात गर्न हामी बाध्य भैरहेका छौँ । त्यसबाट देशको ठुलो धनराशी जोगिने थियो । जुम्लाबाट खरिद गरेर नेपाल खाद्यसंस्थानले ल्याएको अर्गानिक खाना त्यसै गोदाममा सडिरहेको यस्तो विषम् जनचेतनाविहीन अवस्थाबाट समाजलाई बचाउनकै लागि समेत देशका हुनेखाने, उच्च घरानियाँ वर्ग, राजा–महाराजासरहका नेतृत्व वर्गको भात भान्साको प्रदर्शनीले राजनैतिक रुपमा नकारात्मक तरङ्ग त पैदा गरेको होला, तर यसले नकारात्मक मात्रै होइन खानपानको स्तरमा भने पूर्ण रुपमा सकारात्मकता पैदा गरेको छ । अझै भन्नुपर्दा उच्च वर्गले आलिसान बंगला छोडेर कटेजको बास रोज्थे या सामान्य जीवनशैली अपनाउँथे भने यो समाजको भौतिक जगतप्रतिको अस्वस्थ प्रतिष्पर्धामा कमी आउने थियो । तिनले खाजा–खानामा खोलेफाँडो, कोदो–कोइरालो, गहत, मकै भटमास, रोटी, ढिँडो, आटो आदि खाएको प्रत्यक्ष प्रसारण गर्न सके समस्त जनसमुदायमा जीवनशैली खानपान, रहनसहनमा परिवर्तन आउने थियो । त्यसैले, फेरि पनि ओहदामा रहने र उच्च घरानीयाँलाई पङ्क्तिकार भन्छ– खाइदेऊ न महाराज कोदो–कोइरालो ।

अस्तु !!

63 Shares

प्रतिक्रिया