दौँतरी पुँजीवाद, मेडिकल कलेज र नियमित अनशन

दौँतरी पुँजीवाद, मेडिकल कलेज र नियमित अनशन


■ स्वयम्भूनाथ कार्की

दौँतरी पुँजीवाद अर्थात् ‘क्रोनी क्यापिटलिजम’ अर्थशास्त्रले चिनेको शब्द होइन । समाजवादले छोडेको छिद्रबाट पैदा भएको उकुच हो यो । अङ्ग्रेजीको क्रोनी शब्दको अर्थ हुन्छ साथी, जोडीदार, सहयोगी, दौँतरी । हिन्दीमा यसलाई सहचर पुँजीवाद या सहृदय पुँजीवाद भनिएको भेटिन्छ भने नेपालीमा यसको अनुवाद दौँतरी गर्दा अनुचित नहोला । राम्रो र मीठो लाग्ने यो दौँतरी पुँजीवादको अवस्था राम्रो भने होइन । सामान्यतया मिश्रित अर्थव्यवस्था वा समाजवादी अर्थव्यवस्थामा आधारित मुलुकहरूमा यो ऐंजेरु फैलिएको भेटिन्छ । यसैको कारणले समाज हमेसा अशान्त रहन्छ । उदाहरणको निमित्त डा. गोविन्द केसीको लगातारको अनशनलाई लिन सकिन्छ ।

सरकारी नियम–कानुन, अनुदान, सहुलियत आदिले एकै प्रकृतिका वैधानिक व्यापार–व्यवसायमा फरक पर्न थाल्छ । अर्थात् कुनै व्यापारी–व्यवसायी सरकारी कर्मचारीको दौँतेरीमा फस्टाउँछ, कुनै दुब्लाउँछ । यस अवस्थालाई दौँतरी पुँजीवाद नामकरण गरिएको छ । सत्तामा भएका, हुने सम्भावना भएकाहरू र उनीहरूका आसेपासे आफैं व्यापार–व्यवसायमा हुन्छन्, कर्मचारीतन्त्रले तिनीहरूलाई दौँतरी बनाउनुपर्ने नै हुन्छ । यस अवस्थामा सरकारले घोषणा गरेको वा गर्न तयार गरिएको अनुदान सहुलियतहरू यस्तै व्यावसायिक दौँतरीभन्दा बाहिर जाने सम्भावना न्यून हुन्छ । यसले समाजमा धनी र गरिबबीचको अन्तर कहालीलाग्दो किसिमले ठूलो बनाउँछ ।

दश–पन्ध्र वर्ष पहिलेसम्म सामान्य हैसियत भएका व्यक्तिहरू व्यापारी–व्यवसायी भएर अचानक करोडौँ कर तिर्ने हैसियतमा पुग्छन् भने त्यो यही दौँतरी पुँजीवादको चमत्कार हो । प्रश्न उठ्छ– यदि यस्तो आर्थिक चमत्कार हुन्छ भने क्रोनी क्यापिटलिजम अर्थात् दौँतरी पुँजीवाद कसरी नराम्रो भयो ? सीधा हेर्दा प्रश्न अनुचित बिल्कुलै होइन, तर जब यसको कारणले धनी र गरिबको बीचको अन्तर ठूलो हुन्छ त्यो मुलुकलाई पीडादायक हुन्छ । यो अन्तर लगातार बढ्दै जान्छ र जो सरकारी दौँतरीबाट वञ्चित छ त्यो दरिद्रमा नै रूपान्तरण हुन्छ । किनभने, दौँतरी पुँजीवादबाट लाभ पाउनेहरूले पाएको लाभ उनीहरूको भागको होइन । जो यो दौँतरीभन्दा बाहिर छ त्यसको हक खोसिएको हो ।

दौँतरी पुँजीवादले मुलुक चुसिराख्छ, धनी अथाह धनी भइरहन्छ र धनीलाई अझ धनी बनाउन गरिबले तातो बलुवाको परदेशमा रगत सुकाइरहन्छ । उसको रगतपसिनाले अरूलाई नै पोसिरहन्छ । किनभने यो पूरा दोष समाजवादवाट जन्मेको दौँतरी पुँजीवाद नामक धुन्धुकारीको हो ।

सुनाखरी फूलअसाध्यै राम्रो हुन्छ, अमरलता बेल पनि पहेँलोधागोले गरेको शृङ्गारजस्तो सुन्दर देखिन्छ । तर, यी परजीवी हुन्, कुनै न कुनै अर्को वनस्पतीको मिहिनेत खाएर फैलिएका हुन्छन् । कालान्तरमा त्यो वनस्पती समाप्त पारेर त्यसको अवशेषमा पनि फस्टाउँछन् । यसै गरेर केही व्यापारी–व्यवसायी राजनीतिकर्मीको सहाराले कर्मचारीतन्त्रसँग दौँतरी गाँस्न पुग्छ । राज्यको पूरा सुविधा उसको निमित्त हुन्छ, त्यो सुविधा जो अरूको निमित्त नै लक्षित भनिएको हुन्छ । अझ आफैं राजनीतिकर्मी भयो भने त एक थोपा पनि अन्त चुहुन सम्भव नै छैन ।

यो दौँतरी पुँजीवादको कुअसर नेपालमा कत्तिको छ भने हेर्न किसानलाई, साना उद्योगलाई वा पिछडिएको क्षेत्रलाई भनेर शुरु गरिएको कार्यक्रम लगातार कता र कसलाई गएको छ त्यो अध्ययन गरे पुग्छ । अझ निजीकरणको लहरले त मुलुकको मेरुदण्ड भएका क्षेत्र नै तहसनहस गरेको छ । यसैको उदाहरण हुन् मेडिकल कलेजहरू, सरकारी अस्पतालका वरिपरि खोलिएका निजी अस्पतालहरू । यस्ता उदाहरणहरू छरपस्ट छन् । आर्थिक रूपले असफल राष्ट्र हुने खतरा भएको भनिएको मुलुकमा कोही विश्वको धनीको सूचीमा आउँछ । अरूलाई कठिन भएको विदेशमा लगानी नियम दौँतरी पुँजीवादको कारणले उसका निमित्त सरल भइदिन्छ ।

दौँतरी पुँजीवादको कृपाले मेडिकल कलेज कत्तिको नाफामूलक हुन्छ भने केवल अनुमतिपत्र नवीकरण गर्न वर्षाँैदेखि लाखौँको राजस्व बुझाउन सम्भव हुन्छ । एक स्थानमा विद्यार्थी शून्य भएको मेडिकल कलेज अर्को स्थानमा पनि खोल्न तम्सन्छ । यसले दौँतरी हुन नसकेको अर्को समूहलाई चोट पर्नु स्वाभाविक नै हो । त्यसैले अनेक बहानामा यिनीहरूबीच व्यावसायिक युद्ध हुन्छ । यो युद्ध दौँतरी पुँजीवाद समाप्त पार्न होइन अर्कालाई विस्थापन गरेर आफू त्यस स्थानमा पुग्न हुन्छ । सबैलाई सुलभ भएको अवस्थामा यो व्यवसाय नाफामूलक बिल्कुलै हुन्न । त्यसैले आफू थपिएर मात्र हुन्न अरूलाई भगाउनुपर्छ ।

आफूले भनेका व्यक्ति हटाइँदा पनि फेरि आफूलाई अनशन बस्ने आवश्यकता किन पारियो भनी सोच्न नसकेकाले गोविन्द केसी सोझा मात्र होइनन् हुस्सु पनि हुन् । आफूलाई समर्थन गर्न भनेर अएका र आफ्नो विरोध गर्दै गरेकाहरूले देखाएको समस्याको रूप र उनले लडेको समस्याको रूप के एकै छ त ?

यस्तै समूहहरूको गोटी भएका छन् सोझा डा. गोविन्द केसी । केही नाम पनि कमाएकाले सबै पक्षलाई यिनी काम लाग्ने हतियार भएका छन् । निरन्तर उनलाई अनशन बसाइन्छ, कहिले एक पक्षले च्याप्छ र अर्को पक्षलाई प्रहार गराउँछ, कहिले अर्को पक्षले च्याप्छ र पहिलेकोलाई प्रहार गराउँछ । उनको दिमागमा घुसाइएको कारण भने ज्युँका त्युँ राखिन्छ । सम्झौता हुन्छ, सहमति हुन्छ, तर अर्कोपल्ट अनशन बस्ने कारण समाप्त गरिएकोे हुन्न । चिकित्साशास्त्र शिक्षाको निमित्त भनेर यी कैयौँपटक अनशन बसे । सुधार गरिनुपर्ने व्यक्तिमा होइन व्यवस्थामा थियो भन्ने उनलाई थाहा नभएको पनि होइन । तर, कहिले कुनै व्यक्तिको बर्खास्तगीको माग राखे कहिले कुनै ।

आफूले भनेका व्यक्ति हटाइँदा पनि फेरि आफूलाई अनशन बस्ने आवश्यकता किन पारियो भनी सोच्न नसकेकाले गोविन्द केसी सोझा मात्र होइनन् हुस्सु पनि हुन् । आफूलाई समर्थन गर्न भनेर अएका र आफ्नो विरोध गर्दै गरेकाहरूले देखाएको समस्याको रूप र उनले लडेको समस्याको रूप के एकै छ त ? बिल्कुलै छैन । उनको सङ्घर्ष कहिले कसैको कहिले कसैको निमित्त कमाउ सिँढी भएको छ । यो क्रोनी क्यापिटलिजम अर्थात् दौँतरी पुँजीवाद रहुञ्जेल यस्ता अनशनहरू सकिन्नन् । आज सकुञ्जेल केसी, भोलि नसकेपछि अर्को कुनै ।

हुन त अहिले यो समस्या हल गर्ने सरल उपाय छ, त्यो हो– शिक्षा र स्वास्थ्य सरकारले आफ्नो हातमा लिनु । यो राज्यले प्रत्याभूत गरेको क्षेत्रको निजीकरण समाप्त पारेर राष्ट्रियकरण गर्नु । तर, यो मागमा कोही सहमत हुन्नन्, किनभने दौँतरी पुँजीवादको अभ्यासले सजिलो कमाइको बानी परेकाहरू अहिले सत्तामा छन् भने भोलि सत्तामा आउन सक्ने दाबेदार पनि त्यही बानी परेका छन् । त्यसैले यो दौँतरी पुँजीवादले मुलुक चुसिराख्छ, धनी अथाह धनी भइरहन्छ र धनीलाई अझ धनी बनाउन गरिबले तातो बलुवाको परदेशमा रगत सुकाइरहन्छ । उसको रगतपसिनाले अरूलाई नै पोसिरहन्छ । किनभने यो पूरा दोष समाजवादवाट जन्मेको दौँतरी पुँजीवाद नामक धुन्धुकारीको हो ।