नयाँ वर्षले सभासद्हरूलाई सद्बुद्धि देओस

नयाँ वर्षले सभासद्हरूलाई सद्बुद्धि देओस


संविधान निर्माण र शान्ति स्थापनाको जिम्मेवारी दिएर जनताले निर्वाचित गरी पठाएका सभासद्हरू वास्तविक अर्थमा संविधानसभाका सदस्य होइन रहेछन् । लामो समय अनेक यातना र असुविधा भोगेका र १२ वर्ष जङ्गलमा गुजारेका नेताहरूले अब देश र जनताको पक्षमा काम गर्लान् भनी ठान्नु मूर्खता नै हुने अवस्था छ । आफ्नो कुर्सीको रक्षा गर्नु र नाता-आफन्त एवम् चाटुकार र आसेपासेको हित गर्नु नै नेताहरूको प्राथमिकता प्रस्ट भइसक्यो । सोझा नेपाली जनतालाई झुक्याउँदै र मित्रराष्ट्र भारत र अमेरिकाजस्ता विश्वसमुदायका मुलुकलाई दोष थोपर्दै सभासद् भनाउँदाहरू आफू चोखिने प्रपञ्च गरिरहेछन् । तर खबरदार † सभासद्को लोगो लगाएका निकम्माहरू, आफूलाई जनताको प्रतिनिधि भन्छौ तर राति सुतेका नेपाली जनताले भोलिको उज्यालो बिहानी देख्नै नपाउने अवस्था आइसक्दा पनि तिमीहरू आफ्नै तालमा मस्त छौ । आज जताततै अस्तव्यस्त र भद्रगोल छ, महँगी उस्तै बढेको छ, मनपरी छ, तर यसको जिम्मा लिने कोही छैन । जनताका नाममा काम गर्ने विभिन्न दलका भ्रातृ सङ्गठनहरू, मानवाधिकारको खेती गर्नेहरू, भ्रष्टाचारविरुद्ध कामगर्ने अख्तियारी पाएका व्यक्ति र संस्थाहरूबाटै जनता असुरक्षित र आतङ्कित छन् । पेट्रोलपम्पमा मजदुरी गर्नेहरू सुरक्षित छैनन्, गाविससचिव सुरक्षित छैनन्, पसलमा व्यवसाय गरिरहेका एकैक्षणमा मारिएका छन्, बसमा हत्या, बाटोमा हत्या, वनमा हत्या, बेला न कुबेला निर्दोष जनताको हत्या हुन्छ । अब पुनः दोहोर्‍याउनुपरेको छ कि यस्तो अव्यवस्था सिर्जना हुनुको सबै जिम्मेवारी यो देशलाई वैतरणी तार्छौं भनी ठेक्का लिएका माओवादी, काङ्ग्रेस र एमाले दलले लिनैपर्छ ।
दल र नेताहरूको भागबण्डामा हुने झगडाका कारण जनता त्रासमा बाँच्नुपरेको छ । दुई महिनासम्म मन्त्री नियुक्त गर्न नसक्ने प्रधानमन्त्रीबाट देशले निकास पाउने आश गर्नु नै अब हाँसोको विषय बनेको छ । आफू काम गर्न नसक्ने अनि यसको दोष पनि भारत, अमेरिका, नेपालका पुँजीपति वर्ग, दलाल आदि के-के नाममा भिराएर आफू पानीमाथिको ओभानो बन्न खोज्ने खनालको चाल सबैले अब बुझिसकेका छन् । नेताहरूलाई होइन शान्ति र संविधान त जनतालाई मात्र आवश्यक छ, जनताले यो बुझिसके, सभासद् भनाउँदाहरूले चाहिँ नबुझेका हुन् कि बुझेर बुझ पचाएका हुन् ?
सभासद् महोदयहरू, आजसम्म जे-जे भयो भयो, अझै डेढ महिना त बाँकी नै छ, ६०१ मिल्नुस् र डर-त्रासमा बाँच्न बाध्य नेपाली जनतालाई सुरक्षाको अनुभूति गराउनुस्, जनताले ढुक्कले बाँच्न पाउने अधिकार सुरक्षित गर्न कम्मर कसेर लागिपर्नुस् । शिक्षित-अशिक्षित सबैखाले सभासद्हरूलाई नयाँ वर्ष २०६८ ले मुलुकमा दिगो शान्ति स्थापना गर्दै नयाँ संविधान निर्माण गर्न सद्बुद्धि र प्रेरणा देओस्, जनताले सन्तोषको सास फेर्न पाऊन्, आमाबुबा, दाजुभाइ, दिदीबहिनी, राजनीतिक दलका नेता, पूर्वराजासमेत समस्त नेपालीलाई नयाँ वर्षको हारि्दक शुभकामना ।
– गुणराज त्रिपाठी, बेनिघाट-७ धादिङ
सबैको भविष्य सद्भाव र सहयोगमा निर्भर छ
इतिहासको तथ्यलाई कसले नकार्न सक्छ र ? विविध संस्कृति एवम् भौगोलिक स्थितिमा भुरेटाकुरे राज्य-रजौटाहरूलाई एक सूत्रमा गाँस्ने पृथ्वीनारायण शाह र नेपाली राजनीतिमा प्रजातान्त्रिक मूल्य र मान्यताको चेतना फैलाउने विश्वेश्वरप्रसाद कोइरालाले इतिहासमा आफ्नो स्थान प्राप्त गरिसकेका छन् । उनीहरूले जातीय-क्षेत्रीयको भ्रममा सस्तो नारा लगाएर महान् बनेका होइनन् । त्यस्तो नारा लगाउनेहरू नै राष्ट्र विघटनको पहिलो सिकार हुनेछन् ।
अहिले नै सकसमा परिसकेका छन् जातीय-क्षेत्रीय नारा लगाउनेहरू । किनभने जनताले निर्वाचनबाट राष्ट्रिय अखण्डता र एकताका लागि संविधान निर्माण गर्न जनादेश दिएका हुन् । सस्तो नाराबाट आजको विकसित राजनीतिक हाम्रो समाजमा संविधान निर्माण सम्भव छैन । अनि परेन फसाद जातीय, क्षेत्रीय नारा हाम्रो एजेण्डा भनी दाबी गर्नेहरूलाई †
प्रजातान्त्रिक मूल्य र मान्यता -समानता, स्वतन्त्रता र स्वाभिमान)को माध्यमबाट समाधान नहुने के-कस्तो समस्या
होला † अहिले जनताले देखिरहेका छन् । उच्च तहका राजनीतिज्ञहरूले सस्तो नाराको भ्रमको खेती गरेर जनताको भविष्यप्रति खेलवाड गरेको छ । आजको समस्या भनेको सबैको भनाइ र गराइमा एकरूपता नदेखिनुबाट मुलुकमा जटिलता थपिँदै जाँदो छ । आपसी भ्रातृत्व, सद्भाव नै नेपालका लागि मात्र नभई यस भेगकै शान्ति र प्रगतिका लागि आवश्यक छ ।
– दामोदर पौड्याल, झम्सीखेल-२, ललितपुर