बेल्जियम जनसम्पर्क समितिले सम्झ्यो बीपीलाई

बेल्जियम जनसम्पर्क समितिले सम्झ्यो बीपीलाई


डिल्ली अम्माई, बेल्जियम

जन सम्पर्क समिति बेल्जियमले नेपाली राजनीतिका शिखर पुरुष तथा नेपाली काङ्ग्रेसका संस्थापक नेता बीपी कोइरालाको स्मृति सभा आयोजना गरी बीपीलाई सम्झिएको छ ।

बीपीको ३६औँ स्मृति दिवसमा आयोजित सभा सञ्चालन गर्दै आयोजक समितिका महासचिव दिनेश भण्डारीले सामाजिक, आर्थिक र राजनैतिक असमानताको अन्त्यको लागि बीपीको समाजवादी सिद्धान्त अपरिहार्य रहेको र उहाँको राजनैतिक दर्शन नेपालको राजनैतिक तथा कानुनी इतिहासकै एक अमूल्य दस्तावेज भएको दाबीगरे ।

त्यस्तै, समितिका सँस्थापक अध्यक्ष ध्रुव पौडेलले प्रमुख अतिथिको आसनबाट बोल्दै बीपीको सिध्दान्तलाई बुझ्न उहाँको कार्यकालमा सरकारले अंगालेका नितीहरुलाई बुझ्नु जरुरी हुने बताए। उनले ‘२००७ सालको क्रान्तीपछि रुपान्तरित मोहियानी हकसम्बन्धी ऐन २००९, २००९ मै बनाइएको भूमिसुधार आयोग, भुमि सुधारसम्बन्धी ऐन २०१४, बिर्ता उन्मुलन ऐन २०१६ पूर्ण रुपमा समाजवादी दिशामा मुलुकको रुपान्तरण गर्ने ध्येयले चालिएका कदम थिए, तर ती कदम तत्कालिन राजा, रजौटा र जमिन्दारहरुलाई मन परेन। त्यसैको परिणाम नै २०१७ पुस १ गतेको शाही कु हो’ भन्दै पछिला दशकमा कांग्रेस बीपीको समाजवादी नीतिबाट बिचलित हुने आशंका पैदा भएकोले सबै कार्यकर्ताले पार्टीलाई खबरदारी गरिरहनुपर्ने धारणा राखे।

अतिथिकै आशनबाट बोल्ने क्रममा जनसम्पर्क समितिका निवर्तमान अध्यक्ष सुवास जोशी सन्तोषले बीपीको साहित्य र नेपालको राजनीतिमा दिएको योगदानले उहाँलाई अमर बनाइसकेको बताउँदै उहाँले प्रतिपादन गरेको ब्याक्तिगत स्वतन्त्रता, कल्याणकारी समतावादी आर्थिक नीति र न्यायिक समानताको सिद्धान्त अतुलनीय र दीर्घकालिक महत्वको रहेको धारणा ब्यक्त गरे।

स्मृतिसभाको समापन मन्तव्यमा सभापति सीता सापकोटाले अधिकारसम्पन्न लोक सेवा आयोगमार्फत राष्ट्रसेवकको चयनको नीति, पार्टीगत अनुशासनको सिद्धान्त र राष्ट्रियताको सवालमा मेलमिलापको सिद्धान्त नेपाली काङ्ग्रेसका कार्यकर्ताहरुले सधै अध्ययन र मनन गर्नुपर्ने बताउँदै गोविन्द केसीको मेडिकल माफियाहरु बिरुद्धको आमरण अनसन गरिब जनताको शिक्षा र स्वास्थ्यमा पहुँच स्थापित गर्नको लागि भएकोले समर्थन गर्नुपर्ने तर्क राखिन्।

त्यस्तै उनले बीपीले अंगालेका वैचारिक र दार्शनिक अवधारणाहरूमा आधारभूत मानवअधिकार, प्रेस स्वतन्त्रता, निर्वाचन, स्वतन्त्र न्यायपालिका वा कानुनी राज्य, सन्तुलित परराष्ट्र नीति नेपालका मार्गनिर्देशक सिद्धान्त हुन् भन्ने आसय राखिन् ।

कार्यक्रममा सबै संघसंस्थाका प्रतिनिधिलगायत उपस्थित सबैले फोटोमा माल्यार्पण र पुष्पगुच्छा अर्पेर बिपीलाई श्रद्धान्जली तथा सम्मान अर्पण गरेका थिए।