राप्रपा प्रजातान्त्रिकले माग्यो कानूनमन्त्रीको राजीनामा

राप्रपा प्रजातान्त्रिकले माग्यो कानूनमन्त्रीको राजीनामा


कानुनमन्त्री शेरबहादुर तामाङले पदीय मर्यादा र गरिमाविपरीत बंगलादेशमा चिकित्सासम्बन्धी अध्ययन गर्ने नेपाली महिला विद्यार्थीको अस्मितामाथि प्रहार गर्दै दिएको अभिव्यक्ति घृणित, निन्दनीय र आपत्तिजनक भएको ठहर राप्रपा प्रजातान्त्रिकले गरेको छ । सो दलले आज एक विज्ञप्ति जारी गर्दै मन्त्रीको सो अभिव्यक्तिका घोर भत्र्सना गरेको छ ।

मन्त्रीजस्तो सम्मानित पदमा बसेको व्यक्तिको यस्तो तुच्छ अभिव्यक्तिले सारा नेपाली अपमानित भएका उल्लेख गर्दै राप्रपाले देश र जनताको भावनालाई चोट पुर्याई अपशब्द बोल्ने झापाका व्यापारी दुर्गा प्रसाइलाई पनि कानुनबमोजिम कारवाही गर्न सरकारसँग माग गरेको छ ।

राप्रपा प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘राष्ट्रको गरिमापूर्ण र मर्यादित मन्त्री जस्तो पदमा बसेर यस्तो गैरजिम्मेवार, अमर्यादित, अशोभनीय र अपशब्द बोल्ने छुट सह्य हुन सक्दैन । तसर्थ निजले तत्काल नेपाली जनतासामु माफी मागी आफ्नो पदबाट राजीनामा दिएर नैतिकता प्रर्दशन गर्न र आधा आकाश ढांकेको महिलाको सम्मान गर्नु पर्दछ । गरिमामय पदमा बसेर नेपाली दिदीबहिनीको अस्मितामाथि आपत्तिजनक र अमर्यादित अभिव्यक्ति दिने मन्त्री तामाङलाई कारवाही होस् भनी राप्रपा प्रजातान्त्रिक सम्माननीय प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराउँदछ ।’