अवैध ‘हुण्डी कारोबारी’माथि प्रहरीको छापा

अवैध ‘हुण्डी कारोबारी’माथि प्रहरीको छापा


काठमाडौं उपत्यकाभित्र गैरकानुनी तवरले हुण्डीको कारोबार गरी राजश्व छल्दै आएका केही व्यवसायी प्रहरीको नियन्त्रणमा परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखालाई प्राप्त सूचनाको आधारमा महाशाखाबाट खटिएको बिशेष प्रहरी टोलिले आज (सोमबार) दिउँसो काठमाडौंको न्यूरोड र कुलेश्वर एरियाका विभिन्न स्थानमा छापा मारेको थियो । चेकजाँच गर्दा नगद, विभिन्न बैकका हस्ताक्षर गरी राखिएका चेकबुकहरू, ह्वाट्सएपमा गरिएको हुण्डीको कारोबारसहितको विवरण, हुण्डी कारोबार गरिएका कागजातहरू बरामद भएको थियो । यस अवैध धन्दामा संलग्न पाँच व्यक्तिलाई नियन्त्रणमा लिई प्रहरीले प्रारम्भिक अनुसन्धान तथा सोधपुछ शुरु गरेको छ ।

यसरी पक्राउ परेका हुण्डी कारोबारीहरूमा भारत घर भई हाल कुलेश्वरमा माँ चामुण्डा फ्रुट सेन्टर सञ्चालन गर्ने ४५ वर्षका विजय गुप्ता, ललितपुर महालक्ष्मी नपाका २३ वर्षीय दीपक श्रेष्ठ (रिभरसिटी सहकारी संस्थाका कर्मचारी), चितवन खैरेनी नपा शान्तिवजार घर भई काठमाडौं बाफल बस्दै आएका २९ वर्षीय संजित पाण्डे (ब्राईन इन्टरनेशनल प्रा.लि.का कर्मचारी), भारत घर भई हाल ताहाचल बस्ने २९ वर्षका अंकित अग्रवाल र धनकुटा महालक्ष्मी घर भई हाल पुतलीसडक बस्ने वर्ष १८ का पुजन छाला जिमी (रिभरसिटी सहकारी संस्थाका कर्मचारी) रहेका छन् ।

उनीहरूबाट ५३ लाख १९ हजार ६ सय ७५ नगद र २३ लाख १३ हजार रकमबराबरको चेक प्रहरीले बरामद गरेको छ ।