कानुनमन्त्रीलाई बर्खास्त गर्न कांग्रेस संसदीय दलको माग

कानुनमन्त्रीलाई बर्खास्त गर्न कांग्रेस संसदीय दलको माग


नेपाली कांग्रेस संसदीय दलले कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङको अभिव्यक्तिप्रति आफ्नो गम्भीर रूपले ध्यानाकर्षण भएको जनाउँदै उनलाई मन्त्री पदबाट तत्काल बर्खास्त गर्न माग गरेको छ ।

मित्रराष्ट्र बंगलादेशमा चिकित्सा शास्त्र अध्ययन गरिरहेका र अध्ययन गरेर फर्किएका नेपाली चेलीहरूका बारेका मन्त्री तामाङद्वारा व्यक्त विचारप्रति आफ्नो ध्यानाकर्षण भएको एक विज्ञप्ति जारी गर्दै कांग्रेसले सो कुरा बताएको हो ।

नेपाली कांग्रेस प्रतिनिधिसभा सचेतक पुष्पा भुसाल र राष्ट्रिय सभा प्रमुख सचेतक सरिता प्रसाईंद्वारा हस्ताक्षरित विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सार्क क्षेत्रका छिमेकी राष्ट्र बंगलादेशसँग नेपालको निकटतम सम्बन्धमा समेत यस्तो कार्यले प्रतिकूल प्रभाव पार्ने देखिन्छ । उक्त कार्यप्रति हामी क्षोभ प्रकट गर्दछौँ र निन्दा गर्दछौँ । तसर्थ कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीलाई मन्त्री पदबाट तत्काल बर्खास्त गर्न नेपाल सरकारका सम्माननीय प्रधानमन्त्रीसमक्ष हामी जोडदार माग गर्दछौँ ।’