मेगा बैंक नवौँ वर्षमा, ग्राहकसंख्या पाँच लाख

मेगा बैंक नवौँ वर्षमा, ग्राहकसंख्या पाँच लाख


‘हलोदेखि हाइड्रोसम्म’ नाराका साथ नौ वर्षअघि स्थापना भएको मेगा बैंकले साना तथा मझौला व्यवसाय (एसएमई) र लघुवित्तलाई प्राथमिकतामा राख्दै आएको छ ।

गत आर्थिक वर्षमा निक्षेप संकलन रु. ११ अर्ब ८२ करोड बढेर रु. ६३ अर्ब पुगेको छ । यसैगरी कर्जा प्रवाह पनि करिब रु. ११ अर्ब बढेर रु. ५७ अर्ब २६ करोड पुगेको छ । ग्राहकसंख्या पाँच लाख छ ।

त्यसैगरी कर्जाको औसत आकार रु. २९ लाख ५५ हजार र निक्षेप रु. एक लाख २२ हजार छ । स्थापनाको नवौँ वर्षमा आइपुग्दा बैंकले १०१ शाखा विस्तार गरेको छ । देशभर १४ एक्टेनसन काउन्टर, ११९ शाखारहित बैंकिङ सेवा, दुई हजारभन्दा बढी मेगा रेमिट सञ्जाल र ७४ एटीएम छन् ।

नवौँ वार्षिकोत्सवका अवसरमा राजधानीमा आज आयोजित कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले संघीय संरचनाअनुसार हरेक प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गरी मेगा बैंकको सञ्जाललाई व्यापक बनाइने बताए । ‘हामी छोटो समयमा नै मुलुकको ठूलो बैंक बन्न सफल भएका छौँ, अब संघीयताको कार्यान्वयनसँगै नयाँ नयाँ आर्थिक सम्भावना र चुनौती हाम्रो माझमा देखिएका छन्,’ उनले भने ।

अध्यक्ष शाहले भने, ‘विज्ञहरूसँगको परामर्शमा हामीले पाँच वर्षीय रणनीतिक योजना बनाएर कार्यान्वयनमा ल्याइसकेका छौँ । आर्थिक सम्भावनाका नयाँ क्षेत्र पहिल्याउँदै कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा बैंकको मुख्य व्यवसायलाई केन्द्रित गर्छौँ ।’

बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले छोटो समयमै मेगा बैंक बैंक क्षेत्रमा उत्कृष्ट ब्रान्डका रूपमा स्थापित भएको बताइन् । ‘हामीले बितेको आठ वर्षमा मेगा बैंकलाई एउटा सफल वित्तीय संस्थाका रूपमा स्थापित ग¥यौँ । टुरिजमसँगको मर्जरपछि झन् मेगा बैंक चुक्ता पुँजीका आधारमा नेपालकै दोस्रो ठूलो बन्न सफल भएको छ । ग्राहकको विश्वास जित्दै हामी निरन्तर अघि बढिरहन्छौँ,’ उनले बताइन् ।