काङ्ग्रेसले उठायो कावासोतीको फोहर

काङ्ग्रेसले उठायो कावासोतीको फोहर


– शालिकराम कोइराला, नवलपुर

वर्षांदेखि उठ्न नसकेको कावासोती बजारको फोहर नेपाली काङ्ग्रेसले उठाइदिएको छ । काङ्ग्रेसका संस्थापक बीपी कोइरालाको ३६औं स्मृति दिवसको अवसरमा कावासोतीको फोहर आइतबार उठाइएको रूद्रलाल कँडेलले जानकारी गराए । उनी नेपाली काङ्ग्रेस कावासोती २ का वडा सभापति हुन् ।

यहाँको फोहर ब्यवस्थापनमा यसअघि नगरपालिकाले अनेकौं प्रयास गर्दा पनि सकेको थिएन। महामानव बीपीको स्मृति दिवसको अवसरमा फोहर उठाइएको भएता पनि यो क्रम निरन्तर जारी रहने उनले बताए । अब कावासोतीको फोहर काङ्ग्रेसले नै बढार्छ अरू कसैले सक्दैनन् भन्ने उनको भनाई थियो । नगरपालिकामा रहेको अनेकौं बेथितिप्रति उनले ब्यंग्यात्मक ढंगले इंगित गरे ।

फोहर उठाउन नसक्ने नगरपालिकाले जनताको ढाड सेक्नेगरी कर असुलेको, विकास निर्माणको काम र ठेकेदारसँग कमिशन लिने गरेको, काल्पनिक योजना बनाएर लाखौं भुक्तानी दिएको सर्वसाधारणको आरोप छ ।

त्यति मात्र होइन मापदण्ड र प्रकृया पूरा नगरी कर्मचारी भर्ना गरेको, अनावश्यक जिन्सी सामान खरिद गरी नगरपालिकालाई आर्थिक भार पारेको, शिक्षकहरूप्रति दुर्व्यवहार गरेको र भुक्तानी दिनुपर्ने योजना कमिशन नपाएपछि प्रशासकीय प्रमुख रोशन ज्ञवालीले रोकेको जनआक्रोश रहेको छ ।

कावासोती नगरपालिकाको नीति तथा कार्यक्रम पकेटका मान्छे हेरेर बनाएएको, विज्ञ समूहसँग परामर्श नगरिएको, कमिशन हात लाग्ने योजना बनाउँदा कतिपय क्षेत्र बजेटविहीन भएको वडाबासीको आरोप छ ।

नगरपालिकाले अनधिकृत ब्यक्तिविषेशलाई सवारीसाधन उपलब्ध गराएको, प्रदेशस्तरका कार्यक्रममा समेत सरोकार नभएका ब्यक्ति लैजाने र तिनिहरूको खर्च पनि ब्यहोर्ने गरेको, पदीय हिसाबले आफूमुनिका कर्मचारीलाई हप्काउने गरेको जस्ता गम्भीर आरोप कर्मचारीहरूले नै रोशन ज्ञवालीलाई लगाएका छन् ।

प्रमुख प्रशासकीय अधिकृतबाट नै नगरपालिका प्रदुषित भएकाले नगरपालिकाभित्रै सफाईको आवश्यक्ता परेको नेकपाकै कार्यकर्ताले औंल्याएका छन् ।

स्थायी सरकारको रूपमा रहेका प्रशासकीय अधिकृतले कतिपय सवालमा प्रमुखलाई समेत गलत सल्लाह दिएर हाउगुजी देखाउने गरेको नगरकार्यपालिकाका सदस्यहरूले उल्लेख गरेका छन् ।

नगरमा बाहिरी फोहर र भित्री फोहर थुप्रिँदै जाने हो भने यसले समग्र कावासोतीको विकासलाई नै दशकौं पछि धकेल्ने भएका कारण यस्ता फोहर तत्काल हटाउनुपर्ने नगरवासीको जोड रहेको छ ।