नेपाली कांग्रेसको महासमिति बैठक भदौमा नहुने सम्भावना

नेपाली कांग्रेसको महासमिति बैठक भदौमा नहुने सम्भावना


समयानुकुल विधान संशोधन, पार्टी पुनर्संरचना लगायतका एजेण्डाको व्यवहारिक सम्बोधनका लागि आगामी भदौमा हुने भनिएको नेपाली कांग्रेसको महासमिति बैठक अनिश्चित हुन पुगेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अत्यन्त निकट नेता रमेश लेखकले यस्तो संकेत गरेका हुन् ।

नेपाल प्रेस युनियन मोरङद्वारा आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा मन्तव्य राख्दै नेता लेखकले पार्टीभित्र देखिएका समस्या विस्तारै समाधान हुँदै जाने उल्लेख गर्दै पार्टीले विधान संशोधन समिति बनाई नसकेकाले आगामी भदौमा हुने भनिएको महासमितिको बैठक निश्चित नभएको बताए ।

कांग्रेस केन्द्रीय सदस्य लेखकले चिकित्सा शिक्षा सम्बन्धमा माथेमा आयोगले तयार गरेको प्रतिवेदनको आधार बनेको अध्यादेश प्रस्तुत भइसकेकाले अब वर्तमान सरकारले नयाँ चिकित्सा शिक्षा विधेयक संशोधन हुनुपर्ने कारण स्पष्ट गर्नुपर्ने धारणा पनि राखे । सरकारले स्वास्थ्यमा नागरिकको पहुँच हुने किसिमको चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने उनको जिकीर थियो ।

स्मरण रहोस्, कांग्रेस महासमितिमा पुरानो २४० निर्वाचन क्षेत्रबाट ५–५ जनाका दरले १२ सय, केन्द्रीय कार्यसमितिका ८५, विभिन्न १९ देशबाट ३–३ जनाको दरले ५७ जना, २६ भ्रातृ र शुभेच्छुक संस्थाबाट ३–३ जनाका दरले ७८ सहित कूल १५ सय बढी सहभागी हुने व्यवस्था गरिएको छ । १३औं महाधिवेशनका क्रममा भएको क्षेत्रीय अधिवेशनबाटै महासमिति सदस्य छानिइसकेका छन् ।