‘काङ्ग्रेसले केही गर्नै पर्दैन, कम्युनिष्ट सरकार टिक्दैन’ : डा महत

‘काङ्ग्रेसले केही गर्नै पर्दैन, कम्युनिष्ट सरकार टिक्दैन’ : डा महत


नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकारले आफै पतनको बाटो रोजेको बताएका छन् । सरकारले दुई तिहाइको दम्भ प्रदर्शन गरेर जनताको भावनाविपरीत गएकोले आफ्नो पतनको बाटो आफैले रोजेको उनको धारणा छ ।

दुई तिहाइ बहुमतको भनिएको यो सरकार निर्माण भएको चार महिनामै इतिहासमै सबैभन्दा बदनाम भएको बताउँदै अस्पतालमा गोली चल्ने, मन्त्रीकै आदेशमा अस्पतालबाट चिकित्सक अपहरणमा पर्ने, विदेश हिँडेका प्राज्ञिक व्यक्तिलाई अपहरणको शैलीमा फर्काउने जस्ता कारण यसका प्रमुख उदाहरण रहेको उनले तर्क गरे ।

नेपाली कांग्रेस रुपन्देहीद्वारा बीपी कोइरालाको ३६औँ स्मृति दिवसका अवसरमा आइतबार रुपन्देहीमा आयोजित सभालाई सम्बोधन गर्दै सहमहामन्त्री डा. महतले सरकार जनताको भावनाविपरीत गएको कुरा आज अब कांग्रेसले भनिरहनु नपर्ने बरु दिनहूँका क्रियाकलाप, सामाजिक सञ्जाल र देशका सञ्चारमाध्यमहरूले देखाइरहेका बताए ।

कांग्रेसले ल्याएको चिकित्सा शिक्षा विधेयकमा फेरबदल भएमा राम्रो नहुने भन्दै डा. गोविन्द केसीको जीवन रक्षाका लागि कांग्रेसले जस्तोसुकै कदम पनि उठाउने उनले जानकारी दिए ।

संसारमै पतन भएको कम्युनिष्ट सरकार अब नेपालमा पनि धेरै नटिक्ने भन्दै उनले यो संसारमै नटिकेको व्यवस्था हो, यहाँ पनि टिक्दैन, कांग्रेसले केही गर्नै पर्दैन भन्ने तर्क गरे ।