रेलले जोडिँदै दुई कोरिया

रेलले जोडिँदै दुई कोरिया


उत्तर र दक्षिण कोरियाबीच रेलसेवा सञ्चालनको प्रक्रिया शुरु हुने भएको छ । यस विषयमा उत्तर र दक्षिण कोरियाका अधिकारीबीच छलफल हुने जनाइएको छ ।

रेल सेवा सञ्चालन गरी त्यो सेवा दुवै कोरियाको बाटो भएर कुद्ने गरी प्रक्रिया अघि बढाइने अनुमान गरिएको छ ।

यी दुवै कोरियालाई रेल सेवाले जोड्ने र आगामी दिनमा संयुक्त रूपमा आधुनिक रेल सेवा सञ्चालन गर्ने विषयमा गत महिना पनि दुवै देशका अधिकारीबीच छलफल भएको थियो ।

दक्षिण कोरियाली भूभागमा पर्ने दुवै कोरियाको सीमा गाउँ पानुमजोममा अवस्थित ‘पिस हाउस’मा अर्काे हप्ता यस विषयको बैठक बस्ने भएको सोलबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

यस बैठकमा दुई कोरियाको पूर्वी र पश्चिमी क्षेत्रबाट रेलसेवा सञ्चालन गर्ने र कम्तीमा पनि दुवै देशको भू–भाग भएर जोड्ने विषयमा कुराकानी हुने बताइएको छ ।

यो प्रयासबारे यी देशबीच गत महिना पहिलोपटक यसरी वार्ता भएको हो । त्यसै बैठकको सहमतिबमोजिम आगामी हप्ता दुवै देशको संयुक्त बैठक बस्न लागेको हो ।

यस बैठकमा उत्तर कोरियाको रेल सेवालाई आधुनिकीकरण गर्ने विषयमा पनि आवश्यक छलफल गरिने बताइएको छ । गत महिना भएको यसै विषयको बैठकमा दुवै देशको रेलसेवा मन्त्रालयका उपमन्त्रीको नेतृत्वमा उत्तर र दक्षिण कोरियाका तीन–तीनजना सदस्य सहभागी भएका थिए ।

उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनबीच दुईपटक भेटवार्ताका साथै शान्ति सम्झौता पनि भएको छ ।

त्यस्तै अमेरिका र उत्तर कोरियाबीच पनि यही गत जुन १२ मा सिंगापुरमा ऐतिहासिक शिखर वार्ता भएको छ ।

सो वार्तापछि उत्तर कोरियाले निशस्त्रीकरण अपनाउने प्रतिबद्धता व्यक्त गरेको छ । हाल उत्तर कोरियासँग अमेरिका, राष्ट्रसंघ र दक्षिण कोरिया केही नरम भएका छन् ।