जाउलाखेल चिडियाखाना प्रविधिमैत्री बन्दै

जाउलाखेल चिडियाखाना प्रविधिमैत्री बन्दै


जाउलाखेलस्थित सदर चिडियाखाना प्रविधिमैत्री बन्ने भएको छ ।

नेपालको एक मात्रै चिडियाखानालाई मोबाइल एप्स, सूचना कक्ष र डिस्प्लेमार्फत आगन्तुकलाई सूचना दिने तयारी भइरहेको व्यवस्थापक चिरञ्जीवी खरेलले बताए । आगन्तुकले चिडियाखाना छिर्नासाथ मोबाइल एप्समार्फत चिडियाखानासम्बन्धी जानकारी पाउन सक्छन् । प्रवेशद्वार नजिकै सूचना कक्ष हुनेछ ।

खरेलले भने, ‘कक्षमा छिर्नासाथ आगन्तुकले आफूलाई चाहिने आवश्यक सबै जानकारी पाउन सक्छन् ।’ दर्शकले भित्र छिर्नासाथ कम्प्युटरमा दबाएर सबै सूचना पाउन सकिने उनको भनाइ छ । मोबाइल एप्स र डिस्प्लेमार्फत आगन्तुकले त्यहाँका पक्षी र जनावरबारे जानकारी पाउन सक्नेछन् ।

उनका अनुसार कुन बाटोबाट कुन जनावरको खोर छ भन्ने जानकारीदेखि ती जनावरका बारेमा जानकारी आगन्तुकले पाउन सक्छन् । सूचना कक्षमा केही समय बिताउँदा अध्ययन–अनुसन्धान गर्ने व्यक्तिले पनि महत्वपूर्ण जानकारी पाउन सक्नेछन् । जनावरमा अहिले १२४ प्रजातिका ८३७ जनावर छन् । त्यहाँ भौतिक सुधारका कामसमेत अघि बढिरहेको छ ।