तत्कालीन चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउन माग

तत्कालीन चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउन माग


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले केही स्थान हडताल–जुलुस गर्न निषेधित क्षेत्र घोषणा गरेर जनताको शान्तिपूर्ण प्रदर्शन गर्न पाउने मौलिक अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाएका छन् ।

३६औँ बीपी स्मृति दिवसका अवसरमा कांग्रेस केन्द्रीय समितिद्वारा आज (आइतबार) आयोजित कार्यक्रममा उनले संविधानप्रदत्त शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार कुण्ठित गर्नु अप्रजातान्त्रिक र मानवाधिकारविरुद्ध हो भन्दै कम्युनिस्टसँग मिल्नुहुँदैन भन्ने बीपीको विचार उपयुक्त भएको आफूले भर्खरै थाहा पाउन लागेको बताए ।

आमरण अनशनरत प्रा.डा. गोविन्द केसीका माग सम्बोधन गर्न आफ्नो नेतृत्वको तत्कालीन सरकारले माथेमा आयोगका भावना र मर्मअनुसार नै चिकित्सा शिक्षा अध्यादेश जारी गरेको बताउँदै पूर्वप्रधानमन्त्री देउवाले उनका माग सम्बोधन गर्न तत्कालीन चिकित्सा शिक्षा अध्यादेशअनुसार नै विधेयक ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले बीपीका विचारबाट पार्टी विचलित नभएको स्पष्ट पार्दै भने, ‘बीपीले परिकल्पना गरेअनुसार संविधानसभाबाट संविधान जारी भएको र ग्रामीण क्षेत्रको विकासका लागि २०४८ सालयता कांग्रेसले विभिन्न कार्यक्रम अघि बढाएको छ ।’

ग्रामीण क्षेत्रमा पनि गुणस्तरीय चिकित्सा शिक्षा पुगोस् भन्ने प्रा.डा. केसीका माग उपेक्षा गरेर सरकार दमनमा उत्रिएको आरोप लगाए । कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बीपीले मार्गनिर्देशन गरेको सिद्धान्त आत्मसात् गरे मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ भन्दै पार्टीभित्रका गुटउपगुटको अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेतृत्वलाई सुझाव दिए ।

पार्टी कोषाध्यक्ष सीतादेवी यादवले बीपीले देखाएको मार्ग र प्रजातन्त्रका लागि गरेका योगदान सबै कांग्रेसीजनका मनमा भए पनि बाटो बिराएर पार्टीभित्र एकले अर्कालाई हराउने प्रवृत्ति अन्त्य गर्नुपर्ने धारणा राखे । कांग्रेस नेता गोपालमान श्रेष्ठले बीपीका सपना पूरा गर्न संविधानसभाबाट संविधान जारी गरी कार्यान्वयन गर्नेलगायत काम कांग्रेस नेृतत्वमै सफल भएको बताउ ।

सो अवसरमा पार्टी नेता डा. रामशरण महतले बीपीले भनेझैँ कांग्रेसले मुलुकमा आर्थिक र सामाजिक क्षेत्रमा उल्लेख्य काम गरेको जिकिर गरे । कार्यक्रममा कांग्रेस मुख्य सचेतक बालकृष्ण खाण, नेपाल महिला संघका अध्यक्ष उमा रेग्मी, कांग्रेस ललितपुरका सभापति मदन आमात्यलगायतले आगामी दिनमा कांग्रेसलाई सशक्त रूपले अघि बढाउन एकढिक्का बनाउनुपर्ने सुझाव दिए ।