बीपीको ३६औँ स्मृति दिवस र काङ्ग्रेसको भविष्य

बीपीको ३६औँ स्मृति दिवस र काङ्ग्रेसको भविष्य


विश्व प्रजातान्त्रिक समाजवादी आन्दोलनका महान नेता, नेपाली कांग्रेसका संस्थापक, जननायक बीपी कोइरालाको देहावसान भएको दिन श्रावण ६ गतेलाई नेपाली कांग्रेसले हरेक वर्ष बीपी स्मृति दिवसका रुपमा मनाउँदै आएको छ । यसै सन्दर्भमा देशका सबै जिल्ला, क्षेत्र, नगर, गाउँ, वडा तहसम्म र भ्रातृ एवं शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिहरूले ३६औँ बी.पी. स्मृति दिवस मनाइरहेको काङ्ग्रेस केन्द्रिय कार्यालयले जनाएको छ ।

सबैको सहभागितामा वृक्षारोपण, रक्तदान, सभा, गोष्ठी, ऱ्याली, प्रशिक्षणलगायतका विविध रचनात्मक कार्यक्रमको आयोजना गरी सप्ताहव्यापी रूपमा ३६औँ बीपी स्मृति दिवस मनाउन कांग्रेसले आफ्ना सबै जिल्ला, भ्रातृ एवं शुभेच्छुक संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूलाई केही दिनअघि नै परिपत्र गरेको थियो ।

बीपीको देहावसान भएको आज ३६ वर्ष पुगिसकेको छ । काङ्ग्रेसले ०७ सालको राजनीतिक घटनालाई जहानियाँ शासन–व्यवस्था तथा सामन्ती युगबाट मुलुकलाई आधुनिक एवम् लोकतान्त्रिक परिवेशमा प्रवेश गराउने ‘जनक्रान्ति’का रूपमा लिएको र उक्त क्रान्तिको नायक रहेका नाताले बीपी कोइरालाको सम्झनामा हरेक वर्ष स्मृति दिवस मनाउने गरेको हो ।

बीपीले उसबेलै पूर्ण लोकतान्त्रिक नेपाल, आधुनिक समतामूलक समृद्ध नेपाल, सबै घर–परिवारलाई खान–लाउन पुग्ने स्वतन्त्र एवम् आत्मनिर्भर नेपाल र समग्रमा बुझ्नुपर्दा ‘प्रजातान्त्रिक समाजवादी नेपाल’को नारा दिएका थिए । नारा मात्र होइन, बीपीको हरदमको सोच, चिन्तन र व्यवहार पनि माथि उल्लेख गरिएको लक्ष्यप्राप्तिकै लागि थियो । उनको राजनीतिक उद्देश्य नै नेपाल र नेपालीको निरन्तर प्रगति तथा उत्थानका खातिर लागिपर्नु थियो ।

तात्कालिक शासक वर्गको कठोर अवरोध र राष्ट्रिय–अन्तर्राष्ट्रिय बिब्ल्याँटाका कारण मात्र बीपीलाई आफ्नो जीवनकालमै राजनीतिक उद्देश्य पूर्ति गरेर देखाउने अवसर हासिल हुन सकेन । तथापि, जस्तोसुकै कठिन परिस्थितिमा पनि उनी आफ्नो लक्ष्यबाट कहिल्यै विमुख भएनन् । बीपीको जीवन–सारलाई काङ्ग्रेसजनले यसरी नै अथ्र्याउँदै आएका छन् ।

तर, आज बीपीको ३६औँ स्मृति दिवस मनाउँदै गर्दा उनका सपना कति सार्थक भए, कति हुन बाँकी छन् र यी अधुरा सपना पूरा गरी नेपाल र नेपालीलाई सुखी, सम्पन्न र गौरवशाली नागरिकका रूपमा उभ्याउन आजको काङ्ग्रेस पार्टी या काङ्ग्रेस नेतृत्व के–कति सफल भयो त भन्ने प्रश्न स्वतः खडा हुन आउँछ । र, यस प्रश्नको जवाफ खोज्दै जाँदा हात लाग्ने निराशाले सम्बन्धित सबैलाई स्वभावतः मलीन तुल्याइदिन्छ ।

बीपीको जीवनमा वैयक्तिक स्वार्थले कहिल्यै महत्व राखेन । तर, बीपीको आदर्श पछ्याएको दाबी गर्नेहरूले वैयक्तिक स्वार्थबाट आफूलाई कति अलग या माथि राख्न सकेका छन् त ? यो प्रश्नको इमानदार जवाफ दिन सक्ने काङ्ग्रेसजनको काँधमा अब काङ्ग्रेस पार्टीको भविष्य थेगिएको छ ।

माथि नै भनियो कि बीपीको लक्ष्य त शान्त, समुन्नत वा समृद्ध नेपाली जीवनशैली निर्माण गर्ने थियो । नेपाली माटोमा स्वतन्त्रता, समानता, भ्रातृत्वपूर्ण समाज निर्माण गर्ने भन्ने थियो । उनको यही सत्प्रयासले नेपाली काङ्ग्रेसको सुनौलो इतिहास र सम्पन्न विरासत निर्माण सम्भव तुल्याएको थियो । बीपीले त नेपाली जनताको भविष्यमा आफ्नो भविष्य देखेका थिए । नेपाली जनताको भविष्य सुन्दर तुल्याउन कटिबद्ध रहेर नै उनले आफ्नो इतिहासका पाना सुनौलो तुल्याए ।

बीपीको जीवनमा वैयक्तिक स्वार्थले कहिल्यै महत्व राखेन । तर, बीपीको आदर्श पछ्याएको दाबी गर्नेहरूले वैयक्तिक स्वार्थबाट आफूलाई कति अलग या माथि राख्न सकेका छन् त ? यो प्रश्नको इमानदार जवाफ दिन सक्ने काङ्ग्रेसजनको काँधमा अब काङ्ग्रेस पार्टीको भविष्य थेगिएको छ । साँचो अर्थमा बीपीको आदर्श पछ्याउने काङ्ग्रेजन आजको परिवेशमा कति होलान् भन्ने जिज्ञासा वास्तवमै सान्दर्भिक प्रश्न बन्न पुगेको छ ।

निश्चय पनि, राजनीतिक क्रान्तिमार्फत लोकतन्त्र स्थापना, यसको संस्थागत विकास र आर्थिक समृद्धिमार्फत समाजवाद स्थापनाको काङ्ग्रेसी लक्ष्य बीपीसँग जोडिएका घटना वा सन्दर्भहरूको कथा हालेर वा निस्ता भाषण गरेको भरमा पूरा हुन सक्दैन । काङ्ग्रेसको सुनौलो इतिहासमा दाग लगाउने, यसको चमक हराउने खालको परिवेश आज दिनानुदिन हुर्किरहेछ । बीपीको विचार–यात्राको उद्घोष गरेको काङ्ग्रेसले कमसेकम यो यथार्थ बुझेकै हुनुपर्छ ।

भन्न त काङ्ग्रेसको शीर्ष नेतृत्व अझै ठाडो शिर गरेरै भनिरहेको छ कि लोकतन्त्र र जनअधिकारका लागि मर्ने पार्टी यही हो, समाज समृद्ध तुल्याएर जनताको मुहारमा खुसी ल्याउने पार्टी पनि यही हो, कुनै पनि प्रकारको निरङ्कुशताबाट देशलाई मुक्त पार्ने पार्टी यही हो र अधिनायकवादतर्फ उन्मुख देशलाई सङ्कटको भूमरीबाट उतार्ने पार्टी पनि यही हो ! राजनीतिक दलका पट्यारलाग्दा क्रियाकलापबाट जनता निराश हुँदै गएको अनुभूति गरिएको बेला यति दाबी गर्न सक्नु पनि साहसकै कुरा मान्नुपर्छ ।

यस्तो परिवेशमा बीपीका सोच, व्यवहार र विचारलाई जनस्तरसम्म पुऱ्याउने उद्देश्यका बीपी स्मृति दिवस मनाइनु सकारात्मक सन्दर्भ नै हो । तर, बीपीको सम्झनामा झारा टार्ने विगतकै जस्तो प्रवृत्तिको पुनरावृत्ति भइरहेको त होइन भन्ने चिन्ता र आशङ्का चाहिँ कायम नै छ । गर्व गर्न लायक इतिहास बोकेर पनि पार्टीको नेतृत्वकै कारण वर्तमान र भविष्य पनि चिन्ताग्रस्त नै छ भनी इमानदार काङ्ग्रेसजनबाटै आवाज उठिरहेको छ । बीपीको ३६औँ स्मृति दिवस मनाउँदै गर्दा काङ्ग्रेसका नेतृत्व तथा हर्ताकर्ताहरूले यो मनन गर्ने कि ?