धादिङमा नगरपालिकाकै मिलेमतोमा अनुदानको रकम दुरुपयोग

धादिङमा नगरपालिकाकै मिलेमतोमा अनुदानको रकम दुरुपयोग


आवश्यक प्रक्रियासमेत पूरा नगरी मापदण्ड विपरीत नीलकण्ठ नगरपालिकाले पशु बधशाला स्थापना गर्न बजेट विनियोजन गरी असार साउनमा बधशालाको भवन धमाधम निर्माण गरिरहेको छ ।

पशु बधशाला निर्माण गरी सञ्चालन गर्नका लगि पूर्व अनुमति र इजाजत लिनुपर्ने कानूनी व्यवस्था विपरीत धादिङस्थित नीलकण्ठ नगरपालिकाले गत वर्षको बजेटबाट असार साउनमा धमाधम बधशाला निर्माण गरिरहेको हो ।

पशु बधशाला र मासु जाँच प्राविधिक निर्देशिका २०६४ ले इजाजत पत्र नलिई पशु बधशाला खोल्न र मासुको बिक्री वितरण गर्न रोक लगाएको छ ।

नीलकण्ठ नगरपालिका–८ थोपलखोला किनारमा रहेको जग्गामा बधशाला निर्माण गर्न शुरु गरिएको हो । पशु बधशाला निर्माण पूर्व प्रारम्भिक वातावरणीय परीक्षण (आइइ) गरी अनुमति लिनुपर्नेमा नलिई सो स्थानमा बधशाला निर्माण जिम्मा दिइएको हो ।

बधशाला निर्माण गरिएको जग्गा नीलकण्ठ नगरपालिकाका सल्लाहकार दीपक कोइरालाको जग्गामा भवन बनाउन अनुमति दिइएको नीलकण्ठ नगरपालिकाले जानकारी दिएको छ ।

नीलकण्ठ नगरपालिका–३ मा फ्रेस हाउस सञ्चालनको अनुमति पाएको नमल फ्रेस हाउसलाई वडा नं ८ मा बधशाला निर्माण गर्न नमिल्ने जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।

कानून विपरीत जथाभावी खुलेका बधशाला र मासु पसलले एकातिर जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने जोखिम बढाएको छ भने अर्का्तिर व्यवसाय सञ्चालनबापत राज्यले पाउनुपर्ने करसमेत छली गर्ने गरेको स्थानीयले बताएका छन् । नगरपालिकाकै मिलेमतोमा अनुदानको रकम दुरुपयोग र कानून उल्लंघन हुने गरेको स्थानीयवासीले आरोप लगाएका छन् ।

नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगन्नाथ पन्तले स्थानीय सरकारले केन्द्रीय कार्य विधिलाई मान्नु पर्ने बाध्यात्मक व्यवस्था नभएकाले नगरपालिका क्षेत्रभित्र गरिने कामको अधिकार नगरपालिकाको हुने बताए ।

जिल्लाभर तीनवटा पशु बधशालाले मात्र सञ्चालनको अनुमति पाएका छन् भने निर्माणाधीन एउटाको आइइ नगरेको भन्दै निर्माणमा रोग लगाइएको छ । धादिङ जिल्लामा २०० को हाराहारीमा मासु पसल सञ्चालनमा रहेकामा ७५ वटा मासु पसलले मात्र मासु बिक्री गर्न अनुमति पाएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।