‘कलियुगको आदित्य ज्योतिपथ’ लोकार्पण

‘कलियुगको आदित्य ज्योतिपथ’ लोकार्पण


गुगल ब्वाय नामले समेत सुविख्यात हुनुभएका बालज्ञानी गुरु आदित्यदेवको पुस्तक ‘कलियुगको आदित्य ज्योतिपथ’ आज (शनिबार) लोकार्पाण गरिएको छ । आर्मी अफिसर्स क्लब (भद्रकाली, काठमाडों)मा आयोजित विशेष कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र शताब्दिपुरुष एवम् संस्कृतिविद सत्यमोहन जोशीले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन् ।

आदित्य संरक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पुस्तक लोकार्पण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानका लागि खोजीको विषय भएको बताए । आदित्य दाहालमा गुरु र स्रोतविना नै ज्ञान हुनु आफैँमा आश्चर्यजनक भएको भन्दै प्रधानमन्त्री ओलीले आदित्यलाई आफ्नो ढंगले सोचविचार गर्न दिने र त्यो ज्ञानलाई प्रकट हुने वातावरण बनाइदिनुपर्नेमा जोड दिए । आदित्यको दार्शनिक श्रृंखला तथा चिन्तन प्रक्रिया धार्मिक प्रक्रियासँग मेल नखाने तर्क गर्दै उनले आदित्यको शारीरिक मात्र होइन ज्ञानको पनि सुरक्षा हुनु आवश्यक रहेकोे र यसका लागि सरकारले सहयोग गर्ने बताए ।

सोही कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांस्कृतिक एवं धार्मिक रुपमा समृद्ध नेपाललाई आर्थिक रुपमा पनि समृद्ध बनाउनुपर्ने धारणा राखे । बाल गुरु आदित्यको क्षमताले आफूजस्तो विज्ञानका विद्यार्थीलाई समेत सोच्न बाध्य पारेको उनको भनाई थियो । द्वन्द्धात्मक भौतिकवादको पक्षधरहरुका लागि बालगुरु आदित्यको क्षमताले चुनौती दिएको प्रचण्डले स्वीकार गरे ।

‘कलियुगको आदित्य ज्योतिपथ’ अलौकिक व्यक्तित्व बालज्ञानी गुरु आदित्यले उपदेश गर्नुभएका, अभिव्यक्त गर्नुभएका, र लिपिबद्ध गर्नुभएका ज्ञानराशिलाई कृतिबद्ध गरी जनसामान्यका निम्ति उपलब्ध गराइएको आत्मीय शब्दसौगात भएको आदित्य संरक्षण प्रतिष्ठानले जनाएको छ ।