वृक्षारोपण गरी बिपी स्मृति दिवस मनाइँदै

वृक्षारोपण गरी बिपी स्मृति दिवस मनाइँदै


नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको देहावसान भएको दिन साउन ६ गतेलाई कांग्रेसले विविध रचनात्मक कार्यक्रम गरी मनाउने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय नेताहरूको उपस्थितिमा सो दिन (भोलि आइतबार) बिहान पार्टी केन्द्रीय कार्यालयमा ३६औँ बिपी स्मृति दिवस मनाइने कार्यक्रम रहेको पार्टी कार्यालयले जनाएको छ । कांग्रेसले हरेक वर्ष सो दिन बिपी स्मृति दिवसका रूपमा मनाउँदै आएको छ । विसं १९७१ भदौ २४ गते भारतको बनारसमा जन्मनुभएको कोइरालाको विसं २०३९ मा काठमाडौँमा निधन भएको थियो ।

केन्द्रका साथै सबै जिल्ला, क्षेत्र, नगर, गाउँ, वडा तहसम्म र विदेशस्थित जनसम्पर्क समितिलाई वृक्षरोपण÷रक्तदान÷सभा÷¥याली÷प्रशिक्षण लगायत कार्यक्रम गरी बिपी स्मृति दिवस मनाउन परिपत्र गरिएको पार्टी कार्यालयले जनाएको छ ।

यसैबीच नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले सडकदेखि सदनसम्म जनताका कुरा सशक्त रूपमा राखी सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरी अघि बढ्ने बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले शुक्रबार धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिहंले दुई तिहाइ बहुमत पाएर बनेको यो सरकारले जनतालाई केन्द्रविन्दुमा राखेरसुविधा र राहत दिने काम नगरेको आरोप लगाउँदै भने, ‘यो सरकारले हिजो मात्रै डा गोविन्द केसीलाई अस्पतालमा लाठीचार्ज र फाइरिङ गरी जबर्जस्ती उठाएर काठमाडौँ लगेको छ तर नेपाली कांग्रेसले डा केसीको जीवन रक्षा गर्नुपर्छ भनेर सडकदेखि सदनसम्म आफ्नो आवाज उठाइरहेको छ ।’

सञ्चारकर्मीले सोधेको प्र्र्रश्नको जवाफमा कांग्रेसका पूर्वमहामन्त्री सिंहले कांग्रेसले आगामी दिनमा गर्ने आन्दोलनका कार्यक्रम शान्तिपूर्ण हुने उल्लेख गरे ।