मान्छे बेपत्ता पार्ने पहाड

मान्छे बेपत्ता पार्ने पहाड


सुन्दै डरलाग्दो तर यथार्थ– मान्छे बेपत्ता पार्ने पहाड । बोलिभियाको दक्षिण–पश्चिमी भागमा रहेको केरो रिको पहाड यस्तै उदेकलाग्दो छ । बोलिभियामा लामो समयसम्म स्पेनी साम्राज्य रह्यो । स्पेनीहरू यस पहाडलाई धनी पहाड भन्थे । किनकि त्यहाँ प्रसस्तै चाँदी पाइन्थ्यो । पूरै पहाड नै चाँदीले बनेको लाग्थ्यो स्पेनिसलाई । तर, स्थानीय मजदुरहरू भने यो पहाडलाई मान्छे खाने पहाडको रूपमा चिन्दछन् ।

उक्त पहाडबाट सदियौँदेखि चाँदी उत्खनन गरिँदै आएको छ । अनुमानअनुसार स्पेनीहरूले त्यहाँबाट २ अर्ब औँस चाँदी निकाले । उक्त चाँदीले नै स्पेनलाई धनी बनायो । लगातारको उत्खननले पहाडको उचाइ भने घट्दै गयो । ठाउँठाउँमा सुरुङ तथा भ्वाङ परे । जसका कारण उत्खनन कठिन बन्यो र दुर्घटना बढ्दै गयो । अहिले पनि उक्त ठाउँमा झन्डै १५ हजार खानी मजदुरले काम गर्दछन् । सन् १५४५ मा स्पेनले उक्त पहाडको काखमा एक सानो सहर स्थापित गरी झन्डै ३० लाख मानिसलाई जबर्जस्ती चाँदी खानीको काममा लगायो । १६औँ शताब्दीदेखि अहिलेसम्म यो सहरले लाखौँलाई खाइसकेको उनीहरूको विश्वास छ ।

उक्त पहाडको आसपासमा धेरै विधवा महिला छन् । विधवाहरूले एक सङ्गठन नै खोलेका छन् । उनीहरूका अनुसार हरेक महिना उक्त पहाडका कारण १४–१५ जना महिला विधवा हुन्छन् । किनकि उक्त पहाडको चाँदी खानीमा काम गर्ने १४–१५ जना पुरुषको खानी दुर्घटनामा मृत्यु हुन्छ । चारैतर्फ धुलो तथा चट्टानबाट निस्कने विषाक्त ग्यासको बिगबिगी छ । सोही कारणले गर्दा खानी मजदुर तथा स्थानीय बासिन्दा रोगका सिकार हुने गरेका छन् । त्यहाँ काम गर्ने वा बसोबास गर्ने मानिसको औसत आयु ४० वर्ष मात्र हुने गरेको छ ।

खानी सञ्चालकहरूले दुर्घटना नहोस् भनेर त्यहाँ गहिराइका राक्षस मानिने एल टियोको मूर्ति राखेर पूजा गर्न लगाउँछन् । तर, मजदुरहरू भने पूजा होइन जोखिम कम गर्न माग गरिरहेका छन् । इतिहासकार एडुआर्डो गेलिनोका अनुसार १६औँ शताब्दीदेखि हालसम्म यस पहाडमा ८० लाख मानिस बेपत्ता भएका छन् ।