प्रहरीमाथि जे गरे पनि हुन्छ !

प्रहरीमाथि जे गरे पनि हुन्छ !


– केशवप्रसाद भट्टराई

प्रहरीमाथि जसले जहाँ जे गरे पनि हुन्छ !
जतिवटा टेकु र टीकापुर घटना घटाए पनि हुन्छ !
ती सबै राजनीतिकर्मी, विद्यार्थी, नागरिक समाज र मिडियाका शत्रु हुन् !
राष्ट्रका दुश्मन हुन् !
रोग हुन्, श्राप हुन्, महामारी हुन् !

०००

हानौँ ! ठोकौँ ! अपमान गरौँ !
तेजोबध गर्नुसम्म गरौँ !
तिनका बाबुआमा, पत्नी, दाजुभाइ, दिदीबहिनी कोही हुन्नन् !

रात-दिन, जाडो-गर्मी, चाडबाड भोक-प्यास केही नभनी चौबिसै घण्टा खटिने-
तिनीहरूको पक्षमा बोल्ने पाप ‘सभ्य’ र ‘महान’ लोकतन्त्रवादीले गर्न हुन्न !

०००

तिनको कुनै मानव अधिकार हुन्न !
ती मानिस नै होइनन् !
तिनको राष्ट्र हुन्न, राज्य हुन्न, सरकार पनि हुन्न !
कोही तिनका हुनै हुन्न !

०००

पशुहत्या गर्न हुन्न !
तर पुलिसलाई जे गरे पनि हुन्छ !
खवरदार कोही पुलिसको पक्षमा बोल्लान् !
जो बोल्लान् ती प्रतिगामी, विवेकहीन, लोकतन्त्र, संघीयता र गणतन्त्रविरोधि हुन् !
तिनलाई पनि त्यसै गर्नु पर्दछ !