जब राहुलले मोदीलाई अंकमाल गरे…

जब राहुलले मोदीलाई अंकमाल गरे…


भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग संसदमा अप्रत्यासित रुपमा अंकमाल गरेको विषयले निकै चर्चा पाएको छ ।

भारतको तल्लो सदन लोकसभाको वर्षे अधिवेशनअन्तर्गतको बैठकमा सहभागी हुने क्रममा आज (शुक्रबार) संसद भवनको बैठक कक्षमा गान्धीले मोदीलाई अनपेक्षित रूपमा अंकमाल गरेका हुन् ।

भारतीय संसदमा प्रधानमन्त्री मोदीका विरुद्ध प्रतिपक्षी दल कंग्रेसले अविश्वासको प्रस्ताव दर्ता गराएको भोलि पल्ट राहुलले मोदीलाई अंकमाल गरेकाले बढी चर्चा भएको भारतीय मिडियाहरुको तर्क छ । प्रधानमन्त्री नरेन्द्र बसेकै ठाउँमा गएर राहुलले प्रधानमन्त्रीलाई अंकमाल गरेका थिए ।

रोचक पक्ष त के थियो भने त्यसरी प्रधानमन्त्री मोदीलाई उनी बसेकै स्थानमा गएर अंकमाल गर्नुअघि राहुलले प्रधानमन्त्री मोदी र उनको दल बीजेपीविरुद्ध चर्को स्वरमा भाषण दिएका थिए । भाषणका क्रममा राहुलले ‘म तपाईंको पप्पु हुँ, जति गाली गरे पनि म त तपाईंलाई प्रेम नै गर्छु’ भन्ने अभिव्यक्ति दिएका थिए ।

विपक्षी दल कंग्रेसले उक्त प्रस्ताव दर्ता गराएसँगै संसद् चल्न नदिने भन्दै संसदमा अवरोध पनि गरेको छ । सो अवरोधप्रति असन्तुष्टी जनाउँदै प्रधानमन्त्री मोदीले संसद्को काम कारबाहीलाई अवरुद्ध नगर्न आग्रह गेरेका थिए । शुक्रबार बिहान ट्वीट गरेर उनले संसदीय कामकाज सुनिश्चित गर्न दिन राजनीतिक दलसँग आग्रह गरेका हुन् ।

यो संसदको वर्षे अधिवेशन भएकाले यसले कानून निर्माणदेखि अरू धेरै काम गर्नुपर्ने भएकाले अवरोध गर्न नहुने प्रधानमन्त्री मोदीको जिकिर थियो । उनले सरकार कुनै पनि दलले उठाएका जुनसुकै विषयमा पनि छलफल गरी त्यसबाट समाधान निकाल्न तयार भएको भन्दै संसद् चल्न दिन आग्रह गरेका थिए ।