काङ्ग्रेस यसकारण भयो कमजोर

काङ्ग्रेस यसकारण भयो कमजोर


– इन्द्रबहादुर बराल

आजभोलि दिनहुँ सामाजिक सञ्जालदेखि छापामा समेत काङ्ग्रेसबारे धेरैजसो नकारात्मक टिप्पणी देख्न र पढ्न पाइन्छ । नेपाली काङ्ग्रेस यसअघि कहिल्यै यति कमजोर बनेको र आन्तरिक विवादमा फसेकै थिएन कि जस्तो भ्रामक सन्देश प्रवाह भइरहेको छ । पार्टीको साख जोगाउन यथार्थपरक विश्लेषण वा समीक्षा काङ्ग्रेस कित्ताबाट खासै सार्वजनिक हुन सकेको छैन ।

जबसम्म वास्तविक धरातलमा अडिएर समीक्षा हुँदैन र चुनावी पराजयको छटपटीबाट मात्र रन्थनिएर गरिने समीक्षाले सही दिशामा काङ्ग्रेस पार्टीलाई पु¥याउन सक्दैन । यसर्थ नेपाली काङ्ग्रेसको यो अवस्था एकै रातको परिणाम हुँदै होइन । एकपटक पछाडि फर्केर वि.सं. २०४८ सालको संसदीय निर्वाचन र मदन भण्डारीको दुःखद निधनपछिको उपनिर्वाचन हेऱ्यौं भने स्वतः कारण पत्ता लाग्दछ अहिले यो अवस्था सिर्जना हुनुमा ।

एकथरी काङ्ग्रेसका केही नाम चलेका र सबैभन्दा बढी मत प्राप्त गरेर पार्टीको केन्द्रीय सदस्य बनेकाहरू माथिको तर्कसँग सहमत देखिँदैनन् काङ्ग्रेस कमजोर हुनुमा । अनि भन्दै छन् पार्टीको संस्थापनपक्षलाई नै सम्पूर्ण रूपले जिम्मेवार ठान्छन् । गलत र भ्रामक मनसाय राखेर लेखिने वा बोलिने कार्यशैली नै काङ्ग्रेस कमजोर हुनुको एक प्रमुख कारणमध्ये पर्दछ । त्यसकारण नेपाली काङ्ग्रेसले महसुस गर्नैपर्ने मुुख्य विषय हो पार्टीका संस्थापक सन्तनेता कृष्णप्रसाद भट्टराईलाई अपमानजनक ढङ्गले चुनाव हराउने, लौहपुरुष जनआन्दोलन २०४६ का सर्वोच्च कमान्डर निडर स्व. गणेशमान सिंहलाई पार्टीबाट बाहिरिनुपर्ने बाध्यात्मक अवस्था पनि एक महत्वपूर्ण पक्ष हो । एकपछि अर्को पार्टीका संस्थापक हस्तीहरूलाई व्यक्तिगत सत्तामा स्वार्थले ग्रसित भएर गरिएका कुकृत्यहरू जुन घामजस्तै छर्लङ्ग हुँदै छन् तथापि हत्केलाले छोप्ने प्रयास गर्नेहरू नै पार्टी कमजोर बनाउने कार्यमा जिम्मेवारी लिन चाहँदैन र सम्पूर्ण जिम्मेवारी पार्टी संस्थापन पक्षमा थोपरेर आफू चोखिन खोज्दै छन् ।

वास्तविक रूपमा काङ्ग्रेसको अहिलेको अवस्था सिर्जना हुनुको प्रस्थानबिन्दु खोज्ने क्रममा सूक्ष्म रूपमा विगतलाई कोट्याउन मात्रै खोजेको हो । माथिको पृष्ठभूमिलाई बिर्सेर वर्तमान काङ्ग्रेसको सही–सत्य विश्लेषण वा समीक्षा हुँदैन । यसको मतलब पार्टी सभापतिचाहिँ सम्पूर्ण रूपले चोखो भन्न पनि खोजिएको होइन । यथार्थ खोज्दै जाँदा कहीँ न कहीँ केही न केही सबै जिम्मेवार छन् काङ्ग्रेस कमजोर हुनुमा । सम्भवतः त्यसै भएर होला चुनावपछिको समीक्षापश्चात् पार्टीको नमीठो हारमा पार्टी केन्द्रीय समितिले सामूहिक दायित्वबोध गरेको । महिनौँ लामो अनि त्यत्तिकै अशिष्ट र अमर्यादित ढङ्गले गरिएको समीक्षा बैठकपछि पनि पार्टी नेताहरूले कार्यकर्ता र मतदातालाई समेत निरुत्साहित हुने गरी विचारहरू सम्प्रेषण हुनु त्यो पनि स्थापित नेताहरूबाट अत्यन्तै घातक साबित हुन सक्ने खतरातर्फ सचेत रहनैपर्छ ।

नेपाली काङ्ग्रेस पार्टीले आफ्ना मूल्य र मान्यतालाई बिर्संदै छोड्दै गर्दा उद्देश्यहीन अर्थात् आदर्श र मूल्य–मान्यताविहीन जस्तो देखियो । जनआन्दोलन ०६२/६३ को नेतृत्व गरेको अनि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ जारी गरेको काङ्ग्रेस, त्यसपछिका चुनावमा किन नाङ्गियो ? प्रश्न यहीँनेर छ । यसैको सेरोफेरोमा जवाफ खोजिनुपर्छ ।

त्यसकारण अब त्यो बाटो छोडेर पार्टी एकढिक्का बनाउँदै आगामी चुनौतीको डटेर सामना गर्न सक्ने सक्षम, सबल र सुदृढ काङ्ग्रेस बनाउनेतर्फ लागौँ । पार्टीलाई समक्ष, सबल र एकढिक्का पार्न सबैभन्दा पहिलो सर्त हो पार्टीको विचार र त्यसपछि नेताको विवेकशीलता । पार्टी विचारले चल्ने कुरा हो भने कार्यकर्ता नेताको विवेकले । यसर्थ समग्रतामा नेपाली काङ्ग्रेसले संस्थापनकालदेखि अहिलेसम्म राजनीतिक एवम् वैचारिक हिसाबले कहाँनेर चुक्यौँ त्यसको जरैसम्म पुग्न आवश्यक छ । त्यसै त आन्तरिक किचलो भुसको आगोजस्तै दन्कँदै थियो काङ्ग्रेसमा त्यही मौका छोपेर माओवादीले जनयुद्ध शुरु गऱ्यो । पार्टीको आन्तरिक द्वन्द्वको उत्कर्षले पार्टी विभाजन नै हुन पुग्यो ।

राजा ज्ञानेन्द्रले पार्टीहरूलाई बिरालोले मुसो खेलाउँदाझैँ खेलाउँदै गए । पार्टीहरूको आपसी मनमुटाव उच्चतम बिन्दुमा पुगेपछि राजाको प्रत्यक्ष शासनको अभ्यास समेत देखियो । त्यो समयसम्म एकातिर माओवादीको जनयुद्धले शिथिल भएको अवस्था थियो भने अर्कोतर्फ तत्कालीन राजा ज्ञानेन्दको सर्वसत्तावादको धपेटाइ । जनयुद्धमा रहेको माओवादी र निरङ्कुशताको दारा–नङ्ग्रा फिँजाएको पूर्वराजाको दोहोरो मारमा नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू साँच्चै नै भ्याकुर बनेका थिए । तर, पूर्वराजा ज्ञानेन्द्रलाई उचाल्ने काम पनि नेपाली काङ्ग्रेसकै नेताहरूबाट भएको थियो भन्दा अन्यथा नहोला । यी सबै परिस्थिति खोतल्दै जाँदा नेपाली काङ्ग्रेसले आफ्ना आधारभूत मूल्य र मान्यतालाई एकपछि अर्को गर्दै छोड्दै गयो ।

नेपाली काङ्ग्रेस पार्टीले आफ्ना मूल्य र मान्यतालाई बिर्संदै छोड्दै गर्दा उद्देश्यहीन अर्थात् आदर्श र मूल्य–मान्यताविहीन जस्तो देखियो । जनआन्दोलन ०६२/६३ को नेतृत्व गरेको अनि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ जारी गरेको काङ्ग्रेस, त्यसपछिका चुनावमा किन नाङ्गियो ? प्रश्न यहीँनेर छ । यसैको सेरोफेरोमा जवाफ खोजिनुपर्छ । विषयान्तर हुँदै फलाम तातेको बेलामा साइजमा ल्याउनुपर्छ भन्ने नीति अवलम्बन गरेर पार्टीको संस्थापनइतर पक्षले पार्टी कब्जा गर्ने तारताम्यस्वरूप अग्रीम अधिवेशन र सङ्घीय ढाँचाअनुसार पार्टीको अधिवेशनकै पक्षमा वकालत गर्दै आएको छ, भलै आफ्नो विचार र दृष्टिकोण पार्टीको बृहत्तर हितमा किन नहोस् ।

प्रातः स्मरणीय नेता नेपालीको ढुकढुकी बीपीदेखि गणेशमान र किसुनजीसम्मको आदर्श र पदचिह्न बिर्सनु नै चुनाव हार्नुको प्रमुख कारण हो भन्दा अन्यथा ठहरिँदैन । तत्कालीन घटना मात्र काङ्ग्रेस पराजय हुनुको मुख्य दोष होइन, प्रजातन्त्र पुनर्स्थापनापछिको पहिलो संसदीय निर्वाचनदेखि नै यसको समीक्षा गरेमा मात्र सत्यतथ्य प्रस्ट हुन्छ । अब यो वा त्यो वहानामा पार्टीमा अनावश्यक बहस लोकतन्त्रको दुरुपयोग मात्र हो ।

तर, आमरूपमा सकारात्मक ढङ्गले भन्दा पनि नकारात्मक नै बुझिने हुँदा पार्टीको हित हुने देखिँदैन । चुनाव हार्ने–जित्ने खेल एउटा निरन्तर प्रक्रिया हो, काङ्ग्रेस आन्तरिक विवादमा फसेको मौका छोपी वाम सरकार अधिनायक बाटोमा अग्रसर भइसकेको छ, त्यसलाई रोक्न अब काङ्ग्रेसबाहेक अरू कुनै सङ्गठित शक्ति छैन । यो पनि कटुसत्य हो । यदि यसमा पनि आन्तरिक गलफत्तीबाट फुत्किन सकिएन भने समयले पर्खेर बस्दैन भन्ने पनि बिर्सन हुँदैन । तसर्थ एक सच्चा प्रजातन्त्रवादी पार्टी भएकोले नेपाली काङ्ग्रेसले एउटा चुनावलाई अन्तिम ठान्नु भूल हुनेछ । काङ्ग्रेस त सत्ताभन्दा पनि सिस्टमको लागि लडेको हो भन्ने पनि बिर्सन भएन । पद्धति बाँचिरहे नाचिरहन पाइन्छ भन्ने पनि हेक्का रहनपर्छ ।

अब अझै यस लेखको मनसाय के हो भने नेपाली काङ्ग्रेसको पराजयको पछाडि एउटा त नेपालका वामपन्थी अर्थात् कम्युनिस्टहरूले आफूलाई लोकतन्त्रको कलेवर दिन सके । सर्वसाधारण जनतालाई काङ्ग्रेस र कम्युनिस्ट नै छुट्याउन गाह्रो भयो । त्यस्तै, दोस्रो जनआन्दोलन ०६२/६३ को परिवर्तनको अपनत्व काङ्ग्रेसले लिन नसक्नु अर्को मुख्य कारण हो । यहाँ किन त्यसो भनिएको हो भने नेपाली काङ्ग्रेसले सारा परिवर्तनको जोखिमपूर्ण नेतृत्व सम्हाल्यो तर अरूका मुद्दा बोकेर । अनि जनतालाई लाग्यो त्यो भए काङ्ग्रेसलाई मात्र किन रोज्नुपऱ्यो ? अर्कोतर्फ केही सबक पनि दिनु थियो होला काङ्ग्रेसलाई सच्चिनको लागि । यसर्थ पङ्क्तिकारको विचारमा नेपाली काङ्ग्रेसले आफ्नो परिचय गुमाउँदै गयो । न त गणतन्त्र नै काङ्ग्रेसको मुद्दा थियो, न सङ्घीयता र धर्मनिरपेक्षता । यही कारणले मूलतः नेपाली काङ्ग्रेस कमजोर बन्दै गएको हो ।

हाम्रा प्रातः स्मरणीय नेता नेपालीको ढुकढुकी बीपीदेखि गणेशमान र किसुनजीसम्मको आदर्श र पदचिह्न बिर्सनु नै चुनाव हार्नुको प्रमुख कारण हो भन्दा अन्यथा ठहरिँदैन । अब यो वा त्यो वहानामा पार्टीमा अनावश्यक बहस लोकतन्त्रको दुरुपयोग मात्र हो । तत्कालीन घटना मात्र काङ्ग्रेस पराजय हुनुको मुख्य दोष होइन, प्रजातन्त्र पुनर्स्थापनापछिको पहिलो संसदीय निर्वाचनदेखि नै यसको समीक्षा गरेमा मात्र सत्यतथ्य प्रस्ट हुन्छ । अतः बित्नु बितिहाल्यो भविष्यको चिन्ता गरौँ त्यसैमा काङ्ग्रेसलाई सुनिश्चित गर्न सकिन्छ । धेरै पहिलेदेखिका घात–अन्तर्घात थिग्रिँदै जाँदा त्यसको परिणाम पहिलेको स्थानीय, प्रदेश र प्रतिनिधिसभामा देखिन आएको हो भन्ने निष्कर्षमा पुग्दा ठीक होला ।