देउवाले लिए डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी

देउवाले लिए डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । शुक्रबार दिउँसो त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर सभापति देउवाले डा.केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

चिकित्सा शिक्षा सुधारको मागसहित १६ असारदेखि २० दिनसम्म जुम्लामा अनशन बसेका डा. केसीलाई स्वास्थ्यमा खराबी आएपछि बिहीबार काठमाडौं ल्याएपछि उनी त्रिवि शिक्षण अस्पतालमै अनशन बसिरहेका छन् ।

डा. केसीको मागप्रति कांग्रेसको ऐक्यबद्धता रहेको देउवाले बताए । आफू सरकारमा हुँदा चिकित्सा शिक्षा अध्यादेश जारी गरेको अवगत गराउँदै देउवाले त्यहीअनुसार संसद्मा दर्ता भएको विधेयक परिमार्जन हुनपर्नेमा कांग्रेस अडिग रहेको केसीलाई विश्वास दिलाए । ‘स्वास्थ्य ठूलो कुरा हो, तपाईंलाई राम्रो हुनुपऱ्यो,’ सभापति देउवाले भने, ’हामीले अध्यादेशअनुसार चिकित्सा शिक्षा विधेकलाई परिवर्तन गराउन सदन र सडकमा विरोध जारी राखेर सरकारलाई दबाब दिइरहेका छौँ ।’

केसीको माग सुनुवाइबारे अझै गहन वार्ता हुन सकेको छैन । यसअघि केसी पक्षले प्रतिनिधिसभामा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने अडान राखेको र सरकार त्यसमा सहमत नभएपछि वार्ता स्थगन भएको थियो ।