आठ वर्ष थपियो दक्षिण कोरियाली पूर्वराष्ट्रपतिको जेल सजाय

आठ वर्ष थपियो दक्षिण कोरियाली पूर्वराष्ट्रपतिको जेल सजाय


दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन हाईलाई थप आठ वर्ष जेल सजाय सुनाइएको छ ।

सोलस्थित एक अदालतले शुक्रबार उनलाई यसअघि दिइएको सजायमा आठ वर्ष थप गरेको हो । उनले गरेको भनिएको भ्रष्टाचारको अनुसन्धानका क्रममा यो सजाय थपिएको हो ।

यसअघि नै उनलाई २४ वर्षको जेल सजाय भएको थियो । उनीमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दामा गत महिना मात्र २४ वर्ष जेल र एक करोड ७० लाख अमेरिकी डलरबराबरको जरिवानाको सजाय सुनाइएको थियो ।

भ्रष्टाचारसम्बन्धी मुद्दा प्रमाणित भएर गत महिनादेखि २४ वर्ष जेल सजाय भोगिरहेकी उनको जेल बसाइ अब ३२ वर्षका साथै एक करोड ७० लाख अमेरिकी डलरबराबरको जरिवाना हुने भएको छ ।

दक्षिण कोरियाको राजधानी सोलस्थित एक अदालतका अनुसार उनले अब ३२ वर्षको लामो जेल सजाय व्यहोर्नुपर्ने भएको छ । पूर्वराष्ट्रपति हाई थुनामै रहेका छन् ।

सन् २०१७ को मार्चमा भ्रष्टाचारको आरोपमा उनलाई नियन्त्रणमा लिइएको थियो । त्यसयतादेखि नै उनी थुनामै रहँदै आएका छन् ।

उनले गरेको भ्रष्टाचारको प्रकृतिअनुसार उनलाई कम्तीमा पनि ३० वर्षको जेल सजायको माग यसअघि नै सरकारी वकिलले गरेका थिए ।

पार्क ६६ वर्षकी छन् । उनी दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति हुन् । उनीमाथि राष्ट्रपति पदमा रहँदा शक्तिको दुरुपयोग गरेको आरोप लागेको हो ।

भ्रष्टाचारको संलग्नता यहाँको प्रारम्भिक अदालतले प्रमाणित गरेपछि उनलाई संसदमा महाअभियोग लगाएर बर्खास्त गरिएको थियो ।

दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति रहेकी उनी यसरी महाअभियोग लगाएर निकालिएको पनि यस देशको पहिलो राष्ट्रपति नै बनेकी छिन् ।