पुटिनलाई अमेरिका भ्रमणको निम्तो

पुटिनलाई अमेरिका भ्रमणको निम्तो


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अमेरिका भ्रमणका लागि आमन्त्रण गरिएको समाचार छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई अमेरिकामा स्वागत गर्न आपूm आतुर रहेको बताएका छन् । उनले हालैको भेटका क्रममा राष्ट्रपति पुटिनलाई आमन्त्रण गरेको खुलासा भएको हो ।

आगामी शरद ऋतुमा अमेरिकाको भ्रमण गर्न राष्ट्रपति पुटिनलाई निम्तो दिइएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसका अधिकारीहरूले बताएका छन् ।

ह्वाइटहाउसका अधिकारीहरूले राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई आमन्त्रण गरेकोले पुटिनको अमेरिका भ्रमणको लागि तयारी पनि थालिएको जनाएका छन् ।

दुई राष्ट्रपतिबीच हालै मात्र फिनल्यान्डको राजधानी हेल्सिन्कीमा भेटवार्ता भएको थियो । उक्त वार्तालाई लिएर विवाद पनि चर्किएको थियो । तर, सो भेटवार्तालाई कतिपयले भने उपलिब्धमूलक भनेका छन् ।

यसै समयमा उता पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिइएको समाचार सार्वजनिक भएको छ । यस विषयमा रुसको प्रतिक्रिया भने आइसकेको छैन ।

केही समयअघि पनि अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकलाई रुसले सोधपुछ गर्न पाउनुपर्ने भनी उक्त हेल्सिन्की बैठकका क्रममा रुसी राष्ट्रपति पुटिनले राखेको प्रस्ताव अस्वीकार गरेको बताइएको थियो ।

दुई राष्ट्रपति ट्रम्प र पुटिनबीच सोमबार भएको उक्त शिखर बैठकमा यी धेरै विषयमा कुराकानी भएको थियो । ती सबै विषय बाहिर जानकारीमा अझै नआएको बताउने गरिएको छ ।

हेल्सिन्की बैठकपछि त्यहीँ आयोजना गरिएको पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले रुसको विषयमा आलोचनात्मक अभिव्यक्ति दिएका थिए ।

त्यस विषयमा यी दुई राष्ट्रप्रमुखबीचको विवाद बाहिरै देखिएको थियो । तर, पछि भने ट्रम्पले उक्त शिखर बैठक सफल भएको प्रतिक्रिया दिएका थिए ।

यसरी भ्रमणका क्रममा पनि विवाद समाधान नभएर बाहिर आएको बेला अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिएबाट अमेरिकी अधिकारीमा भने आश्चर्य छाएको छ ।

ट्रम्पप्रति पुटिन सशंकित
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पप्रति आशंका व्यक्त गरेका छन् ।

केही दिनअघि भएको वार्तामा दुई नेताबीच भएका सहमति ट्रम्पले कार्यान्वयन गर्नेमा उनले आशंका व्यक्त गरेका हुन् । राष्ट्रपति पुटिनले ट्रम्पसँग भएको वार्ता ‘सफल’ भएको टिप्पणी पनि गरेको समाचारमा जनाइएको छ ।

रुसका राजदूतहरूको एउटा सम्मेलनमा पुटिनले दुई नेताका बीचमा निकै उपयोगी र अवश्यक सहमति भएको बताए । आफूहरू द्विपक्षीय हितका विषयमा मिलेर अगाडि बढ्न तयार भएको पनि उनले जानकारी दिए । एक–आपसमा अन्त्यन्त सन्तुष्ट राष्ट्रका रूपमा रहने उनको भनाइ छ ।

एक–आपसका अत्यन्त आलोचक र आक्रामक देखिने पुटिन र ट्रम्पबीच गत सोमबार हेल्सिन्कीमा शिखर वार्ता भएको थियो ।