रुफस (बाज) को विश्वभरि चर्चा

रुफस (बाज) को विश्वभरि चर्चा


विश्वको सबैभन्दा पुरानो र चर्चित ग्य्रान्डस्ल्याम टेनिस प्रतियोगिता ‘विम्बल्डन’ हालै सम्पन्न भएको छ । सन् २०१८ को विम्बल्डनको शुभारम्भ र समापनसँगै थुप्रै खेलाडीले चर्चा बटुले पनि विगत थुप्रै वर्षदेखि खेलाडीको भन्दा पनि बढी चर्चा ‘रुफस’ले कमाएको छ । विम्बल्डनलाई सफलताको मूर्तरूप दिन जति आयोजकको जिम्मेवारी छ त्यति नै जिम्मेवारी रुफस पनि छ । आखिर को हो त रुफस ? त्यसको चर्चा गर्नु आवश्यक छ ।

‘रुफस’ एउटा बाज हो, जो पछिल्ला केही वर्षदेखि विम्बल्डनमा परेवा धपाउने काम गर्दै आएको छ । आयोजक अल इंग्ल्यान्ड क्लबले रुफसलाई यो जिम्मेवारी दिएको छ । विम्बल्डन घाँसको मैदानमा खेलिने टेनिसकै सर्वश्रेष्ठ प्रतियोगिता हो । प्रतियोगिताको दौरान परेवाहरूले टेनिस कोर्टको घाँसलाई नोक्सान गर्ने हुँदा थुप्रै वर्षदेखि परेवा धपाउन रुफसलाई त्यहाँ तैनाथ गराइएको छ । रुफस अमेरिकी हेरिस प्रजातिको बाज हो जो लगभग २५ वर्षसम्म बाँच्न सक्छ ।

रुफस सेन्टर कोर्टमा बिहान ५ बजेदेखि १० बजेसम्म ड्युटी गर्छ । यसको लागि रुफसलाई विशेष किसिमको तालिम पनि दिइएको छ । रुफस जब चार महिना भएको थियो त्यसबेलादेखि विम्बल्डनमा आफ्नो ड्युटी गर्दै आएको छ । स्मरण रहोस्, रुफसले परेवालाई डर देखाएर भगाउँछ मात्र खाने र मार्ने काम गर्दैन । सन् २०१६ पछि रुफसको मद्दतको लागि अर्को यस्तै बाजलाई ड्युटीमा लगाइएको छ ।

आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाएपछि रुफस विश्वचर्चित बनेको थियो । रुफसको लोकप्रियता चरम उत्कर्षमा पुगेको समय अर्थात् सन् २०१२ मा अपहरण भएको थियो । त्यसपछि पूरै देशमा रुफसको खोजी भएको थियो । रुफसको खोजीको लागि फेसबुक र ट्विटरको सहायता लिइएको थियो । केही दिनको खोजीपछि रुफस फेलापरेको थियो ।

यही कुरोबाट अनुमान लगाउन सकिन्छ कि रुफस विश्वभरि कति लोकप्रिय छ भनेर । प्राप्त जानकारीअनुसार यतिबेला सोसल मिडियामा रुफसको १० हजारभन्दा बढी फलोअर्स रहेका छन् ।