ब्रिटिस सैन्य सेवामा कार्यरत नातिको ‘देश बिर्सेर’

ब्रिटिस सैन्य सेवामा कार्यरत नातिको ‘देश बिर्सेर’


नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति एवम् वरिष्ठ कवि बैरागी काइँलाले बेलायत बसोबास गर्दै आएका युवा स्रष्टा नरेश नातिद्वारा लिखित कथा सङ्ग्रह ‘देश बिर्सेर’को लोकार्पण गरेका छन् ।

बागजबारस्थित होटल हार्दिकको संवित् सभा हलमा आयोजित एक समारोहमा नेपाली वाङ्मय परिषद् तथा नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले आयोजना गरेको कृति लोकार्पण समारोहमा बोल्दै प्रमुख अतिथि काइँलाले कथाकार नरेश नाति बहुमुखी प्रतिभाको धनी भएको बताए ।

नाति गीतकार, मुक्तककार, सङ्गीत मर्मज्ञका साथै राम्रो वाद्यवादक पनि भएको उल्लेख गर्दै काइँलाले उनका कथाहरू सरल र सम्प्रेषणीय भएको उल्लेख गरे । उनले थपे, ‘सङ्ग्रहभित्रका कथाहरू सबै परिपाकले युक्त छन् ।’

कवि, कथाकार तथा नाटकककार गोपाल पराजुलीले सैनिकको जीवनमा सधैँ परीक्षा आइरहने उल्लेख गर्दै सैन्य सेवामा सेवारत लेखक नातिको कृति नेपाली साहित्यमा सफल हुने विश्वास व्यक्त गरे ।

कवि तथा कथाकार समेत रहेका नेपाल प्रज्ञा–प्रतिष्ठानका आख्यान विभाग प्रमुख प्राज्ञ मातृका पोखरेलले नेपाली साहित्यमा लाहुरे समुदाय र वैदेसिक रोजगारीमा गएका श्रमिक वर्गका विषयमा धेरै कुरा लेखिन बाँकी रहेको बताए ।

प्रज्ञा–प्रतिष्ठानका मातृभाषा साहित्य विभाग प्रमुख प्राज्ञ श्रवण मुकारुङले रचनामा स्पेस र टाइमको विशेष महत्व हुने उल्लेख गर्दै नातिका कथामा ती विशेषता पाइने धारणा राखे ।

वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बूले बेलायत डायास्पोरा नेपाली साहित्यकोे मलिलो भूमि भएको कुरा नातिको कथा सङ्ग्रहले सावित गरेको दाबी गरे ।

लेखक तथा समालोचक महेश पौड्यालले नातिका कथाहरू सत्यको नजिक भएको बताए । उनले भने, ‘कृतिकारका जीवनका अनुभव, अनुभूति र भोगाइहरूकै जगमा कथाहरू लेखिएको पाइन्छ ।’

ब्रिटिस सैन्य सेवामा कार्यरत नातिले कथा लेखनको पृष्ठभूमि सुनाउँदै भने, ‘म कर्तव्य पालनको सिलसिलामा अफगानिस्तानमा खटिएको थिएँ । एक दिन मैले त्यहाँका पाखाभरि चिहानै चिहान देखेँ । पछि थाहा पाएँ ती चिहानहरू त दोस्रो विश्वयुद्धमा मारिएका गोर्खालीहरूका रहेछन् । मनमा नरमाइलो भयो ।’

भावुक हुँदै उनले थपे, ‘एक दिन त मेरै गुरुजी पनि त्यहाँ मारिनुभयो । लडाईंमा गएका आफ्नो पतिका लागि घरबाट पत्नीले सेलरोटी पकाएर कोसेली पठाइदिने चलन हुन्छ । ती गुरुजी मारिएको खबर सुनाउन एक जना अफिसर उनको घरमा जाँदा गुरुजीकी पत्नी सेलरोटी पकाइरहेकी थिइन् रे । यी र यस्तै कुराहरूले मलाई यी कथा लेख्न प्रेरित गरेका हुन् ।’

यसअघि ‘बाटो खोज्दाखोज्दै’ गीत र ‘मन बेइमानी’ मुक्तक सङ्ग्रह प्रकाशित गरिसकेका नातिको तेस्रो कृतिको रुपमा प्रकाशित ‘देश बिर्सेर’भित्र ‘युद्ध’, ‘माङपाहाङ जेठा’, ‘नरम चना भुत्ले साग’, ‘बाँसको भऱ्याङ’, ‘स्मृति’, ‘देश बिर्सेर’, ‘अफगानिस्तान’, ‘रामलेपा’, ‘इकमान’, ‘इन्टरनेट’, ‘निस्सासिएको एक पल’ र ‘त्यो प्रेम’ गरी १२ वटा कथाहरू समाविष्ट छन् ।