केसी-प्रकरणबारे यस्तो छ नेपाल प्रहरीको दुःखेसो

केसी-प्रकरणबारे यस्तो छ नेपाल प्रहरीको दुःखेसो


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बसेका चिकित्सक गोविन्द केसीलाई विहिबार उपचारका लागि राजधानी ल्याइएको छ । अवस्था गम्भीर बन्दै गएकोले थप स्वास्थ्य उपचारको लागि आज अपरान्ह नेपाल प्रहरीसहितको टोलीले नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौ ल्याइएको प्रहरीले जनाएको छ ।

केसीलाई काठमाडौं ल्याउने क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र प्रहरीमाथि सिसा तथा चिर्पट प्रहार गरी हुलहुज्जत गरिएको प्रहरीले जानकारी दिएको छ । यसबारे प्रेस विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीले प्रहरी अधिकृतसहित तीनजना प्रहरी घाइते भएकोमा अन्यको अवस्था सामान्य रहेको र प्रहरी जवान कमल आचार्यको छातीमा सिसाको टुक्रा एवम् प्रहार गरिएको चिर्पटमा रहेको किला गडेर गम्भीर घाइते भएको जनाएको छ । उनको सोही प्रतिष्ठानमा शल्यक्रियालगायतका उपचारहरु भइरहेको बताइएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीद्वारा जारी विज्ञप्तिमा कतिपय मिडियाले भ्रमपूर्ण समाचार प्रकाशन गरेको भन्दे दुःख पनि व्यक्त गरिएको छ । सो विज्ञप्तिमा भनिएको छ– ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा घटेको घटनाको सज्विषयलाई लिएर कतिपय अनलाइन र केही न्युज च्यानलमा प्रहरीले गोली प्रहार गरेको र एकजना प्रहरी जवानको गोली लागी मृत्यु भएको भन्ने समाचार प्रेसित भएकोमा नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा नेपाल प्रहरीबाट गोली नचलाएको र हालसम्म कोही पनि हताहत नभएको जानकारी गराइन्छ ।’

‘समाचार ब्रेक गर्ने होडबाजीमा असत्य समाचार सम्प्रेषण गर्ने र मृत्युजस्तो मानवीय संवेदनाको विषयमा सूचनाको आधिकारिक पुष्टि समेत नगरी समाचार संप्रेषण गर्दा त्यसबाट सम्बन्धित संगठन र निजको परिवारमा मानसिक एवं भावनात्मक आघात पर्न जाने र पाठक वर्गको सही सूचना प्राप्त गर्ने हक समेत कुण्ठित हुने हुँदा यसरी समाचार प्रेषित गर्दा संवेदनशिल एवं जवाफदेही भई सम्प्रेषण गर्न हुन समेत नेपाल प्रहरी सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछ ।’