प्रधानमन्त्री कार्यालयमा समाधान केन्द्र स्थापना गरिने

प्रधानमन्त्री कार्यालयमा समाधान केन्द्र स्थापना गरिने


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समाधान केन्द्र स्थापना गरिने भएको छ ।

विकास निर्माणसम्बन्धी काममा अवरोध आएमा त्यसलाई तत्काल समाधान र अनुगमन गर्नका लागि कार्यालयमा केन्द्र स्थापना गर्न लागिएको मन्त्रिपरिषद्का प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए । उनले मुलुकका ठूला राष्ट्रिय गौरवका आयोजनालाई केन्द्रबाट नै समस्याको समाधान र अनुगमन गरिने बताए ।

उनका अनुसार सिधै आयोजनामा आएका समस्यालाई केन्द्रमा जानकारी गराउन सकिनेछ र ती समस्याको तत्काल समाधान गरिनेछ ।

यसैगरी प्रत्येक मन्त्रालयमा मन्त्रीले आ–आफ्ना मन्त्रालयका समस्या समाधान गर्नसमेत समाधान संयन्त्र स्थापना गर्ने उनले बताए ।

प्रत्येक १५ दिनमा मन्त्रालयले आफूकहाँ आएका समस्यालाई संयन्त्रले समाधान गर्ने छन् । संयन्त्रमा मन्त्री अध्यक्ष रहेछन् ।

यसैगरी सम्बन्धित मन्त्रालयका सचिवको अध्यक्षतामा मन्त्रालयगत समस्याको समाधानका लागि पनि संयन्त्र बनाइने उनले बताए ।

सचिवस्तरको संयन्त्रले प्रत्येक सात दिनमा मन्त्रालयअन्तर्गतका समस्यालाई समाधान गर्ने छन् ।

प्रवक्ता कुँवरले मन्त्री र सचिवस्तरका संयन्त्रबाट समाधान नभए प्रधानमन्त्री कार्यालयको समाधान केन्द्रले समाधान गर्ने बताए ।

उनका अनुसार संयन्त्रले विकास निर्माणको कुरालाई प्राथमिकतामा राख्नेछ ।