साताको अन्तिम दिन ५ अङ्कले घट्यो नेप्से

साताको अन्तिम दिन ५ अङ्कले घट्यो नेप्से


साताको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) ५ दशमलव ३८ अङ्कले घटेको छ । १ हजार १ सय ९८ दशमलव ७७ अङ्कबाट सुरु भएको नेप्से ५ दशमलव ३८ अङ्क ओरालो लाग्दै १ हजार १ सय ९३ दशमलव ३९ अङ्क कायम भएको छ । नेप्से घटे पनि कारोबार रकम भने सुधार भएको छ ।

साताको दुई दिन कारोबारको अन्तिम समयमा वृद्धि हुने नेप्से आंशिक रुपमा अनलाइन कारोबार सञ्चालन भएयता निरन्तर गिरावट आइरहेको छ भने कारोबार रकम आजभने उल्लेख्य वृद्धि भएको नेप्सेले जनाएको छ ।

सो दिन नेप्सेमा १ सय ६२ कम्पनीका ३ हजार ७ सय ७२ कारोबारबाट १९ लाख १८ हजार ६ सय ४८ कित्ता सेयर खरिदबिक्री भई ५६ करोड १२ लाख ८१ हजार ८ सय ४१ रुपैयाँबराबरको कारोबार भएको छ, जुन बुधबारको कारोबार रकमभन्दा ३९ करोड रुपैयाँले बढी हो ।

बुधबार नेप्सेमा १ सय ३९ कम्पनीका २ हजार ३ सय कारोबारबाट ४ लाख ७७ हजार ६ सय ८७ कित्ता सेयर खरिदबिक्री भई १७ करोड ५३ लाख ७७ हजार ६ सय ८७ रुपैयाँबराबरको कारोबार भएको थियो । बुधबार नेप्सेमा ५ दशमलव ५४ अङ्कको गिरावट आएको थियो ।

नेप्सेमा वर्गीकृत १० समूहमध्ये ९ समूहको कारोबार भई अधिकांश ७ समूहमा गिरावट आउँदा त्यसको प्रत्यक्ष प्रभाव नेप्से परिसूचकमा परेको हो । बिहीबार नेप्सेमा व्यापार समूहको कारोबार भएन् ।

नेप्से ओरालो लागे पनि होटलमा र उत्पादनमूलकमा सुधार आएको छ । होटलमा १४ दशमलव ६१ र उत्पादनमूलकमा शून्य दशमलव ४६ अङ्कले वृद्धि भएको छ । यस्तै, सबैभन्दा बढी निर्जीवन बिमामा ८० दशमलव ८२, जीवन बिमामा ४३ दशमलव ५५ र माइक्रोफाइनान्समा १६ दशमलव २३ अङ्कले गिरावट आएको छ । अरुमा भने एकल अङ्कको सामान्य गिरावट आएको छ ।