क्रान्तिकारीे अनुभवले मुलुक चलाउन सकिएला ?

क्रान्तिकारीे अनुभवले मुलुक चलाउन सकिएला ?


■ स्वयम्भूनाथ कार्की

क्रान्तिकारी हुने धुनमा मान्छेले यस्ता काम पनि गर्छ जसको सम्झनाले उसैलाई अप्रिय तुल्याइदिन्छ । यस्ता कुरा बोलेको हुन्छ जो अशिष्टताको सीमानेर हुन्छ । विरोधको भूमिकामा हुन्जेल यस्ता कुराले उसको क्रान्तिकारी उचाइ थप्न मद्दत गरेको हुन सक्छ । तर, जब आफूले सरकार चलाउन पर्ने अवस्था आउँछ त्यसबेला उसको यही विगतले पोलिरहेको हुन्छ । यसै ग्लानिबोधबाट निक्लने प्रयत्न धेरै हास्यास्पद हुन्छ र असफलताको कारण बन्छ । क्रान्तिकारी विद्रोही हुने योग्यता र मुलुक चलाउने योग्यता दुई विपरीत प्रकारका हुन् भन्ने कुरा बुझ्दाबुझ्दै सम्पूर्णले दुर्दशा भोगिसकेका हुन्छन् ।

शक्तिमा आउनेबित्तिकै ‘झोले समूह’ हाबी भइसक्छ । हिजो समर्पित भएर सघाउनेहरूको मनमा निराशा र कुण्ठाले घर बनाउन थाल्छ । यसमा दोषको भागी आफू पनि भइएला भन्ने डर पनि हुन सक्छ वा अब उनीहरूमा नैतिक बल समाप्त भएको पनि हुन सक्छ । यस्ता कुराले परिवर्तनपछिको नेतृत्व अपवादबाहेक हमेसा असफल हुने गरेको हुन्छ । अनि स्वाभाविक प्रश्न उब्जन्छ, आखिर मुलुक चलाउने योग्यताको मापदण्ड के ? जुलुसमा लाठी खाएको कि सुरक्षाकर्मीको मुखमा आगो झोसेको ? के जेल यात्राले मुलुक चलाउने योग्यता थप्छ वा आफ्नो कुरासँग विमति राख्नेको ‘सफाया’ योग्यताको कसी हो ?

विस्तारै यस्ता विरोध, विद्रोह वा क्रान्ति आदिको नेतृत्वले बुझ्न थाल्छ मुलुक चलाउन त आफूले विरोध गरेका तरिका र पद्धति नै चाहिने रहेछ । तर, उसको यो बुझाइबाट आफूमा परिवर्तन गर्न सक्ने बाटो छोडेको हुँदैन, किनभने आफू हिँडेको बाटोबाट हिँड्ने अर्को जत्था तयार भइसकेको हुन्छ । उसले अनायासै आफूलाई हिजो आफूले खोइरो खनेकाको स्थानमा पाउँछ र हिजोको आफ्नो स्थानमा अरू नै हुन्छन् जो आफ्नो खोइरो खन्दै हुन्छन् । यहाँ बहुदल पुनस्र्थापनापछि राष्ट्रिय सभागृहका एक कार्यक्रममा सर्वमान्य नेता गणेशमानले बोलेको एक प्रसङ्ग सान्दर्भिक हुन्छ ।

जेल बसेको, प्रतिपक्षमा भएको बेला जुलुसमा लाठी, गोली खाएको, पर्चा बोकेको वा पोस्टर टाँसेको योग्यता मुलुक चलाउने योग्यता होइन । जुलुसमा ढुङ्गा हानेको, गुलेली चलाएको, मुखमा अगुल्टो झोसेकोजस्ता कुराहरू पनि मुलुक चलाउने योग्यता होइन । कुनै सिद्धान्त (?) बोकेर व्यक्तिहत्या गरेको, हिंसात्मक काम गरेको कुरा त्यसबेलासम्म मात्र राजनीतिक हो कि भनेर भन्न सकिन्छ जुनबेलासम्म त्यो व्यक्ति वा समूह त्यस सिद्धान्तमा अडिग रहन्छ । त्यो सिद्धान्त छोडेर आफूले विरोध गरेकाकै कार्यनीति र पद्धति अपनाउन थाल्नेबित्तिकै त्यो व्यक्ति हत्या वा हिंसा जघन्य अपराधमा परिणत हुन्छ ।

उनले इमानदारीपूर्वक एक घटनाको उल्लेख गरेका थिए । ‘जुलुसको हल्ला सुनेर त्यो हल्ला ध्यानले सुनेकोे त जुलुसले गणेशमान मुर्दावाद पो भन्दै रहेछ । योभन्दा पहिले वीर गणेशमान जिन्दावादको नारा सुन्ने बानी भएको यो सुन्दा नरमाइलो लाग्यो ।’ यस्तै कुरा जनअनन्दोलनको लगत्तैपछि विराटनगरको शहीद मैदानमा गिरिजाले भाषणमा उल्लेख गरेका छन् । उनले भनेका थिए, ‘विरोध गर्ने बानी परेको अहिले पनि कहिलेकाहीँ आफ्नै सरकारको पनि विरोध गर्न पुगिँदो रहेछ ।’ कमसेकम उनीहरूले यो स्वीकार गर्ने त हिम्मत गरे तर यही स्थिति सबै नेताहरूमा छ ।

उनीहरूमा कमजोरी स्वीकार गर्ने हिम्मत छैन त्यसैले त्यसको ढाकछोपको निमित्त अनेकौँ सतही बहाना बनाउँछन् । हरेक बहानाले अर्को विवाद हुन्छ फेरि त्यसलाई छोप्न अर्को बहाना बनाउँछन् । यो बहानाको शृङ्खला निरन्तर हुन्छ । फलस्वरूप उनीहरू उपहासका पात्र बन्छन्, मुलुकले थप कष्ट पाउँछ । हालसालैका गम्भीर लाग्नुपर्ने अभिव्यक्तिहरू सबैलाई हास्यास्पद लाग्ने कारण पनि यही हो । किन नेपालमा आन्दोलन हाँक्न र त्यसलाई सफल बनाउन भने नेताहरू सफल हुन्छन्, तर त्यसको व्यवस्थापन गर्न भने असफल भन्ने यो चेतनशील वर्गको प्रश्नको उत्तर नै यही हो । उनीहरूमा विरोध गर्ने, ठूला कुरा गर्ने मात्र योग्यता छ, मुलुक चलाउने योग्यता छैन ।

पञ्चायतमा शिक्षक, विद्यार्थीले सक्रिय राजनीतिमा भाग लिन हुँदैन भनियो । वर्तमानमा मुलुक चलाउने स्थानमा भएका नेताहरूले यसलाई तानाशाही, अँध्यारोयुग आदि नाम दिएर त्यसको विरोधमा सङ्घर्ष गरे । शिक्षण पेसाबाट नेता मात्र होइन शीर्षनेता भएका पनि वर्तमानमा मुलुक हाँक्ने स्थानमा छन् । अब उनीहरू नै भन्दै छन् शिक्षक राजनीतिबाट टाढा हुनुपर्दछ । यस्तै कुरा विभिन्न पेसागत सङ्गठनहरूमा पनि भोलिका दिनमा आउन सक्छ । यस्ता सङ्गठनहरू दलका भ्रातृ सङ्गठनका रूपमा नभए दल चल्छ कि चल्दैन ? अरू पेसागत सङ्गठन र विद्यार्थी सक्रिय राजनीतिमा रहने हो भने शिक्षक मात्र किन प्रतिबन्धित ? जस्ता प्रश्नले पिरोल्न थालेपछि अवस्था कस्तो होला ?

जेल बसेको, प्रतिपक्षमा भएको बेला जुलुसमा लाठी, गोली खाएको, पर्चा बोकेको वा पोस्टर टाँसेको योग्यता मुलुक चलाउने योग्यता होइन । जुलुसमा ढुङ्गा हानेको, गुलेली चलाएको, मुखमा अगुल्टो झोसेकोजस्ता कुराहरू पनि मुलुक चलाउने योग्यता होइन । कुनै सिद्धान्त (?) बोकेर व्यक्तिहत्या गरेको, हिंसात्मक काम गरेको कुरा त्यसबेलासम्म मात्र राजनीतिक हो कि भनेर भन्न सकिन्छ जुनबेलासम्म त्यो व्यक्ति वा समूह त्यस सिद्धान्तमा अडिग रहन्छ । त्यो सिद्धान्त छोडेर आफूले विरोध गरेकाकै कार्यनीति र पद्धति अपनाउन थाल्नेबित्तिकै त्यो व्यक्ति हत्या वा हिंसा जघन्य अपराधमा परिणत हुन्छ । त्यसैले त्यो मुलुक चलाउने योग्यता हुनै सक्दैन ।