वन्यजन्तु अपराध आरोपमा पक्राउ

वन्यजन्तु अपराध आरोपमा पक्राउ


चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु अपराधमा संलग्न रहेको आरोपमा चितवनको माडीबाट थप एक जनालाई पक्राउ गरेको छ । गएको असार तेस्रो साता पक्राउ परेका भारतीय नागरिकको बयानका आधारमा माडीबाट एक जनालाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिएका छन् । दुई दिनअघि पक्राउ परेका उनको विषयमा अहिले अनुसन्धान भइरहेकाले परिचय खुलाइएको छैन ।

दक्षिण चितवनको माडी सोमेश्वर क्षेत्रस्थित भारतीय सीमा नजिकैको कोरिडोरबाट असार तेस्रो साता सात जना भारतीय पक्राउ परेका थिए । त्यसमध्ये एकजना यसअघि गैँडा तस्करमा संलग्न रहेको भन्ने खुल्न आएको निकुञ्जले जनाएको छ । राससका अनुसार उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको र अन्य ६ जनाको विषयमा निकुञ्जले नै मुद्दा हेरिरहेको ढकालले जानकारी दिनुभयो । उनीहरु सोमेश्वर क्षेत्रमा बन्दोबस्तीका सामानसहित पक्राउ परेका थिए ।

हातहतियार भने नभेटिएकाले टोली परिचालन गरेर जंगलमा हातहतियारको खोजी भइरहेको निकुञ्जले जनाएको छ । वर्षा लागेसँगै विभिन्न सीमा क्षेत्रमा तस्करहरुको चहलपहल बढ्न सक्ने भएकाले सुरक्षामा कडा गरिएको चितवन निकुञ्जले जनाएको छ ।