काठमाडौंमा गर्मी बढ्यो

काठमाडौंमा गर्मी बढ्यो


बिहान र बेलुका सामान्य वर्षा भए पनि दिउँसोपख निरन्तर घाम लाग्ने गरेका कारण तापक्रम वृद्धि भई काठमाडौं उपत्यकामा गर्मी बढेको छ ।

मनसुनी वर्षा तुलनात्मक रूपमा कम भई चर्को घाम लाग्दा दुई दिनदेखि उपत्यकाको तापक्रम बढेको हो ।

काठमाडौंसहित देशभर अझै एक–दुई दिन गर्मी बढ्ने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । वायुमण्डल सफा भई घाम सीधा जमिनमा पर्ने भएकाले एक्कासि तापक्रममा वृद्धि आएको हो ।

मनसुन न्यूनचापीय रेखा नेपालको तलतिर रहेकाले अहिले खण्ड खण्डमा वर्षा हुने गरेको छ ।

हिजो बुधबार र आज काठमाडौंको अधिकतम तापक्रम ३१.६ र न्यूनतम तापक्रम २१.४ डिग्री सेल्सियस रह्यो । एक साताअघि उपत्यकाको अधिकतम तापक्रम २४ देखि २७ सम्म पुगेको थियो ।

केही स्थानमा ठूलो वर्षा हुन सक्ने

आगामी तीन दिनसम्म देशका मध्य तथा पश्चिमी भेगका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै महाशाखाले देशका अधिकांश भेगमा आंशिकदेखि सामान्य बदली भई मध्य र पश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको छ ।

आज दिउँसो देशका अधिकांश भेगमा बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ भने रातिको समयमा देशभर नै सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुन सक्छ ।

आजै देशको पश्चिम र मध्य क्षेत्रका एक–दुई स्थानमा ठूलो वर्षाको पनि सम्भावना रहेको छ । भोलि शुक्रबार दिउँसोको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुन सक्ने सम्भावना छ । रातमा पनि बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने र पश्चिम तथा मध्य क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पर्सि शनिबार पनि यस्तै किसिमको मौसम रहने बताइन्छ ।