१३औँ सागको विषयमा बृहत् छलफल

१३औँ सागको विषयमा बृहत् छलफल


राष्ट्रिय खेलकुद परिषद्ले नेपालले आयोजनाको जिम्मेवारी पाएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) भव्य र सफलतापूर्वक सम्पन्न गर्न विभिन्न खेल संघका प्रतिनिधिहरूसँग छलफल गरी सुझाब संकलन गरेको छ ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को उपस्थितिमा त्रिपुरेश्वरस्थित राखेपमा भएको छलफल कार्यक्रममा सांसद एवम् नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, खेलकुद मन्त्रालयका सचिव मोहनप्रकाश सापकोटा, राखेपका सदस्यसचिव केशवकुमार विष्ट, तालिम तथा प्रशिक्षण विभागका निर्देशक रिम रानाभाट, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक नवीन उप्रेती, राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुन विक, सागमा समावेश हुने सम्भावित विभिन्न २५ खेलका राष्ट्रिय संघका प्रतिनिधि र प्रमुख प्रशिक्षकलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मन्त्री विश्वकर्माले १३औँ साग राष्ट्रको प्रतिष्ठासँग जोडिएको विषय भएकाले यसलाई सफल पार्न सम्बन्धित सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिँदै पदकको सम्भावनालाई ध्यान दिएर सोहअनुसारको तयारी आवश्यक रहेको बताए । उनले १३औँ सागको आयोजना र उपलब्धिलाई सँगसँगै लैजान खेलाडीलाई अभिप्रेरणा र उचित वातावरण मिलाउन सबैको ध्यानाकर्षण गराएका थिए ।

एनओसी अध्यक्ष श्रेष्ठले १३औँ साग आयोजनाका लागि दक्षिण एसियाली ओलम्पिक काउन्सिलको चौथो बैठक बस्न लागेको जानकारी गराउँदै बंगलादेशमा भएको ११औँ सागलाई आधार मानेर सोहीअनुसारका खेलहरू राख्ने नीतिगत निर्णय भए पनि आयोजकका नाताले २ खेल थप्न मिल्ने प्रावधानअनुरूप कराते र गल्फ खेललाई थप गरिएको जानकारी दिएका थिए ।

खेलकुद मन्त्रालयका सचिव सापकोटाले सबै मिलेर सागलाई सफल बनाउन लागिपर्नुपर्ने बताए । सदस्यसचिव विष्टले के गर्दा सागमा राम्रो नतिजा आउँछ र कसरी सागलाई भव्य एवम् सफल बनाउन सकिन्छ भन्ने विषयको प्रस्तावलाई सकेसम्म सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा उपस्थित संघका प्रतिनिधिहरूले खेलाडीको तालिम, खुराक, पूर्वाधार, प्राविधिक जनशक्तिको स्तरवृद्धि, अन्तर्राष्ट्रिय ‘एक्पोजर’, पदकको सम्भावना भएको इभेन्टलाई समावेश गर्न जोड दिनुपर्नेलगायतका विषयमा सुझाव दिएका थिए ।