तेक्वान्दोका वरिष्ठ प्रशिक्षक थापामगर र भुजेललाई ‘सेभेन डान’

तेक्वान्दोका वरिष्ठ प्रशिक्षक थापामगर र भुजेललाई ‘सेभेन डान’


राष्ट्रिय तेक्वान्दो संघ नेपालले साउन २ गते बुधबार ‘हाई डान बेल्ट प्रमोसन टेस्ट’मा उत्तीर्ण चारजना तेक्वान्दोका वरिष्ठ प्रशिक्षकहरूलाई ‘डान’ उपाधि प्रदान गरेको छ । उक्त प्रशिक्षण कार्यक्रम केही दिनअघि ललितपुरस्थित इन्टरनेसनल मार्सल आर्टस् एकेडेमी नेपाल ग्वार्कोमा सम्पन्न भएको थियो ।

संघले उक्त टेस्टमा उत्तीर्ण तेक्वान्दोका पहिलो ब्याजका वरिष्ठ प्रशिक्षक शेरबहादुर थापामगर र दोस्रो ब्याजका प्रेमबहादुर भुजेललाई ‘सेभेन डान’ प्रदान गरेको हो । त्यस्तै संघले गौतम महर्जन र सगिर शेखलाई ६ डान प्रदान गरेको थियो ।

चारैजना वरिष्ठ प्रशिक्षकहरूलाई राष्ट्रिय तेक्वान्दो संघ संरक्षक परिषद्का संयोजक प्रदीप जोशी (टेकराज) र संघका केन्द्रीय अध्यक्ष शिव कोइराला (ज्वाला) ले संयुक्त रूपमा प्रमाणपत्र प्रदान गरेका थिए ।

सो अवसरमा तेक्वान्दोका पूर्वमुख्य प्रशिक्षक तथा वरिष्ठ प्रशिक्षक तथा संघका उपाध्यक्ष ध्रुव गुरुङ, राखेप कानुनी शाखाका अधिकृत तथा संघका केन्द्रीय सल्लाहकार नारायणराज अर्याल, सचिव राकेशकुमार राई, केन्द्रीय सदस्य रघुनाथ खत्री र कृष्णसिंह कपालीको उपस्थिति रहेको थियो ।

वरिष्ठ प्रशिक्षक शेरबहादुर थापामगर तेक्वान्दोका संस्थापकमध्येका एक हुन् । तेक्वान्दोले नेपालमा ०३९ फागुन १९ गते वैधानिक मान्यता पाउँदा थापामगरले तेक्वान्दोको डेमोस्ट्रेसन गरेका थिए । त्यसपछि समग्र तेक्वान्दोको विकासमा समर्पित थापाले दुई दशक नेपाली सेनामा प्रशिक्षकको भूमिका निभाएका थिए ।

त्यस्तै तेक्वान्दोका दोस्रो ब्याजका खेलाडी प्रेम भुजेल राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सफल खेलाडी हुन् । त्रिभुवन क्लबमा लामो समय प्रशिक्षण दिएका भुजेलले नेपालमा तेक्वान्दोको जगलाई बलियो बनाउन अहम् भूमिका निर्वाह गरेका थिए । भुजेल हाल मकाउमा कार्यरत छन् ।

सेभन डान प्राप्त गरेपछि थापामगर र भुजेलले आगामी दिनमा पनि तेक्वान्दोको समग्र विकासमा अहोरात्र खट्ने प्रतिबद्धता जाहेर गरेका थिए । सो अवसरमा उनीहरूले राष्ट्रिय तेक्वान्दो संघका पदाधिकारीहरूलाई धन्यवाद दिँदै तेक्वान्दोको गौरवमय इतिहासलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा अभिवृद्धि गर्न सुझाएका थिए ।