सेन्चुरी बैंकको सद्भावना दूतमा पारस र प्रतिभा

सेन्चुरी बैंकको सद्भावना दूतमा पारस र प्रतिभा


सेन्चुरी कमर्सियल बैंकले राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र भलिबल खेलाडी प्रतिभा मालीलाई सद्भावना दूत घोषणा गरेको छ । साउन २ गते बुधबार राजधानीमा एक कार्यक्रममार्फत दुई खेलाडीलाई सद्भावना दूत बनाएको हो ।

सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, सहायक कार्यकारी अधिकृत जीवन भट्टराई, मार्केटिङ प्रमुख रञ्जन खड्कालगायतको उपस्थिति रहेको कार्यक्रममा पारस खड्कालाई ब्याट र प्रतिभा मालीलाई बल हस्तान्तरण गरेर औपचारिक घोषणा गरिएको थियो ।

नेपालकै कान्छो बैंक सेन्चुरीले नेपालका दुई सुपरस्टारलाई आबद्ध गराउन पाउँदा लोकप्रियता तथा व्यावसायिक अभिवृद्धिमा मद्दत पुग्ने जनाएको छ ।

एक दिवसीय मान्यता पाएपछि पहिलो खेल खेल्न साउन ३ गते इंग्ल्यान्ड जान लागेका पारस खड्काले सेन्चुरी बैंकले खेल क्षेत्र रोजेकोमा धन्यवाद प्रकट गरे । ‘खेलकुद विकासमा व्यावसयिक प्रतिष्ठानको ठूलो महत्व हुन्छ । सेन्चुरी बैंकको साथ पाएको छु, अब हुने खेलमा सेन्चुरी हान्न सकुँ,’ पारसले भने ।

नेपाली भलिबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी प्रतिभा मालीले बैंकको प्रमोसनका लागि सक्दो सहयोग गर्ने प्रतिक्रिया दिइन् । ‘सेन्चुरी बैंकको यो कार्यले आउँदो पुस्तालाई समेत प्रेरित गर्छ,’ प्रतिभाले भनिन् । सेन्चुरी बैंकले दुवै खेलाडीलाई एक वर्षको सम्झौता गरेको जनाएको छ ।