तुइन विस्थापनका लागि आनीद्वारा प्रधानमन्त्रीलाई एक करोड

तुइन विस्थापनका लागि आनीद्वारा प्रधानमन्त्रीलाई एक करोड


प्रधानमन्त्री केपी शर्मा ओलीबाट घोषणा गरिएको तुइन विस्थापन कार्यक्रमका लागि गायिका आनी छोइङ डोल्मा शेर्पाले एक करोड सहयोग हस्तान्तरण गरेकी छिन् । सरकारी टेलिभिजन च्यानल नेपाल टेलिभिजनको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमको बुधबार राति प्रसारित पहिलो शृखंलामा गायिका शेर्पाले सो रकम हस्तान्तरण गरेकी हुन् ।

उक्त रकमले एउटा मात्र भएपनि झोलुङ्गे पुल बन्न सकोस् भन्ने कामना गर्दै गायिका शेर्पाले लामो समयपछि मुलुकमा एकल बहुमतको स्थिर सरकार बनेकाले जनता र राष्ट्रको चाहनालाई सार्थकतापूर्वक अघि बढाउन शुभकामना पनि दिइन्।

सहयोग ग्रहण गर्दै प्रधानमन्त्री ओलीले आफूले एक महिनाको तलव थप गरी तुइन विस्थापन कोष स्थापना गर्ने घोषणा गरे भने कार्यक्रम प्रस्तोता मनोज पाण्डेले पनि कोषमा पचास हजार सहयोग दिने घोषणा गरे ।

प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालको पदबहालीको दिन मुलुकभरका सबै तुइन विस्थापनको घोषणा गरेका थिए ।