विश्वकपको फाइनलमा मैदान प्रवेश गर्ने चारजनालाई जेल चलान

विश्वकपको फाइनलमा मैदान प्रवेश गर्ने चारजनालाई जेल चलान


रसियामा हालै सम्पन्न विश्वकप फुटबलको फाइनल खेलका दौरान मैदानमा प्रवेश गर्ने चारजनालाई जेल सजाय भएको छ । रसिया सरकारले फाइनल खेलका दौरान मैदानमा प्रवेश गर्ने ‘पुसी राइट फेमिनिस्ट पंक ग्रुप’का चार सदस्यलाई जेल सजाय तोकेको हो । उनीहरूलाई १५ दिनको जेल सजाय दिइएको छ ।

मस्कोको अदालतले पुसी राइटका चार सदस्य बेरोनिका निकुलशिना, ओल्गा कुराचेवा, ओल्गा पाखतुसोवा र प्योतर वेरजिलोवलााई १५ दिनको जेल सजाय सुनाउनुको साथै तीन वर्षसम्म कुनै पनि खेल प्रतियोगिताको आयोजना स्थलमा जान प्रतिबन्ध लगाएको छ ।

पुसी राइटका यी चारजना सदस्यले दर्शकसम्बन्धी नियमको पूर्ण रूपमा उल्लंघन गरेको आरोपमा उनीहरूलाई अधिकतम सजाय दिने क्रममा यस्तो सजाय दिइएको हो ।

चारैजना फ्रान्स र क्रोएसियाबीच भएको फाइनल खेलका क्रममा लुन्जिकी रंगशालामा पुलिसको पोसाक लगाएर प्रवेश गरेका थिए । खेलको दोस्रो हाफमा प्रवेश गरेका यी चारजनाका कारण फाइनल खेल केही समय रोक्नुपरेको थियो । सो समयमा उक्त फाइनल खेल हेर्न रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सका राष्ट्रपति इमानुएल, क्रोएसियाका राष्ट्रपति कोलिन्डा र फिफा अध्यक्षको रंगशालामा उपस्थित थिए ।