नेपाल टेलिकमले बढायो सेवाशुल्क

नेपाल टेलिकमले बढायो सेवाशुल्क


नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्थाअनुसार नेपाल टेलिकमले उपलब्ध गराउने केही सेवामा टेलिकमले सेवाशुल्क समायोजन गर्ने भए तापनि ग्राहकहरूको सुविधाको लागि हाललाई विभिन्न सेवा पहिलेकै दरमा उपलब्ध गराइने जनाएको छ । मनसुन अफरको रूपमा विभिन्न प्याकेजहरू यही साउन १ देखि उपलब्ध गराइएको जानकारी दिँदै टेलिकमले भ्वाइस सेवामा सेवा शुल्क ११ प्रतिशतबाट बढाएर १३ प्रतिशत पुऱ्याएको जनाएको छ । त्यसैगरी डाटा सेवामा १३ प्रतिशत सेवा शुल्क तिर्नुपर्ने भएको छ । पहिले डाटा सेवा प्रयोग गर्दा टेलिकम सेवाशुल्क तिर्नु पर्र्दैनथ्यो । अब भ्वाइस र डाटा दुवैमा १३ प्रतिशत टेलिकम सेवा शुल्क तिर्नुपर्ने भएको छ ।

तर, कम्पनीले पहिलेदेखि नै उपलब्ध गराएका विकेन्ड प्याक, नाइट टाइम अनलिमिटेड डाटा प्याक, जीएसएम थ्रीजी÷फोरजी १ जीबी पर डे प्याक, सीयूजी प्याकेज, भिडियो एन्ड टीभी स्ट्रिमिङ आवरली प्याक, एडीएसएलका विभिन्न प्याकेज र इन्डिया अफरअन्तर्गत डेली प्याक र विक्ली प्याक पहिलेकै दरमा उपलब्ध गराइएको बताइएको छ ।

यस्तै, अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, एसएमएस प्याकेज, मिस्ड कल एलर्ट र एफटीटीएच लगायतका विभिन्न प्याकेजहरूको मूल्य समायोजन गरिएको टेलिकमको भनाइ छ । कम्पनीले उपलब्ध गराएका विभिन्न प्याकेजहरूमा २५ देखि ५० प्रतिशत सम्म बोनस उपलब्ध गराइएको जानकारी दिँदै टेलिकमले मनसुन अफरअन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले *1415# डायल गर्नुपर्ने जानकारी गराएको छ ।