प्रधानमन्त्रीको सपना र नेपालीको नियति

प्रधानमन्त्रीको सपना र नेपालीको नियति


जुम्लामा अनशन बस्न पुगेका चिकित्सक गोविन्द केसीप्रति निर्मम र संवेदनहीन बनेको आरोप खेपिरहेका प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला एउटा फरक प्रसङ्गले चर्चामा छन् । भानुजयन्तीको सन्दर्भ पारेर चन्द्रागिरि पहाडमा आयोजित एक कार्यक्रममा आतिथ्य ग्रहण गर्न पुगेका प्रधानमन्त्री ओली त्यहाँ ‘आसुकवि’ बनेर प्रकट भए । ओली संवेदनहीन, कठोर छन् भनी आलोचना गर्नेहरूलाई आफू अत्यन्त संवेदनशील, भावुक व्यक्ति रहेको सन्देश दिने शैलीमा उनले एउटा कविता ठाउँको ठाउँ रची सार्वजनिक गरिदिए । ‘जीवन अजम्बरी नभएको, मृत्यु अवश्यम्भावी रहेको र मरेपछि पनि मुलुक एवम् भावी सन्तती मुस्कुराएको तस्बिर खिच्ने सपना आफूले पालेको’ भाव प्रकट गर्दै उनले कोरेको कविता यतिबेला चर्चामा छ । ओलीरचित कविता सामान्य भए पनि उनको ओहोदा र कवितामार्फत व्यक्त गर्न खोजिएको भावका कारण त्यसले चर्चा बटुल्नु स्वाभाविक देखिन्छ ।

कवितामा प्रधानमन्त्री ओलीले भनेका छन्– ‘…मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाऊँ, सगरमाथा, लुम्बिनी, मेची–महाकाली, हाम्रा लहलह खेतबारी, झपक्क कान्ला र आली, सपनामा भए पनि देख्न पाऊँ, भावी सन्तती मुस्कुराएको… तिनको हँसिलो मुहारको तस्बिर खिच्न पाऊँ, मरे पनि सपना देख्न पाऊँ !’ भनिन्छ– राम्रो कुराको सपना सबैले देख्नुपर्छ, राम्रा र मीठा कल्पना गर्नुपर्छ, यसले सुन्दर भविष्य निर्माणको जग बसाउँछ । सायद यही मान्यताबाट प्रेरित भएर केपी ओलीले पनि कवितामा सुन्दर सपनाको कुरा गरेका होलान् । त्यसमाथि पनि अलिक चर्कै सपना देख्ने र देखाउन खोज्ने पात्रका रूपमा पछिल्लो कालखण्डमा राम्रै नाम कमाएका व्यक्तिसमेत हुन् प्रधानमन्त्री ओली ।

जस्तो कि, रेल, पानीजहाज र घर–घरमा ग्यासका पाइपजस्ता कुरा नेपाली जनताले सोचेका थिएनन्, तर आज आमनेपालीको ‘सपना’ बन्न पुगेको छ । चीनबाट रेल र तेल, भारतबाट पानीजहाज, हावाबाट बिजुली, घरघरमा पाइपबाट ग्यास वितरण, शहरमा ट्राम, मोनोट्रेन, दूरदराज गाउँ–गाउँसम्मै रेलको लाइन, फराकिला र चिल्ला सडक, धुवाँधुलोमुक्त शहर, उद्योगधन्दा र रोजगारीको लहर, बिजुलीको बहार…, अन्ततः समृद्ध नेपाल–सुखी नेपाली ! प्रधानमन्त्री केपीका नारा नै हुन् यी, जो अब उनको मात्र नभई जनताकै सपना बन्न पुगेका छन् ।

मीठा सपनासँगै नागरिकका हरेक तह–तप्का यतिबेला पीर–पीडाका सुस्केरा छोड्न विवश छन् । करको बढेको दर र महँगीको मारले आक्रान्त जनताका निम्ति प्रधानमन्त्रीको कविता घाउमा नुनचुक बन्न सक्छ, न कि पीडा समन गर्ने मल्हम ।

तर, यी मीठा सपनासँगै नागरिकका हरेक तह–तप्का यतिबेला पीर–पीडाका सुस्केरा छोड्न विवश छन् । करको बढेको दर र महँगीको मारले आक्रान्त जनताका निम्ति प्रधानमन्त्रीको कविता घाउमा नुनचुक बन्न सक्छ, न कि पीडा समन गर्ने मल्हम । राज्यको ढुकुटीबाट करोडौँ खर्च गराई विदेशी–उपचार पाएर स्वस्थ र सुकिला–हँसिला देखिएका प्रधानमन्त्री केपीलाई सुमधुर कविता फुर्दै गर्दा तमाम नेपाली जनता आफूले दैनन्दिन भोगिरहेका दुःखको बोली पनि फुटाउन नसक्ने गरी कमजोर र निरीह हुन पुगेका छन् । सुन्दर सपना देख्न त सहज र निश्चिन्त निद्रा पनि त चाहियो, जो जनताको पहुँचदेखि बिस्तारै टाढिँदै छन् ।

अपेक्षा थियो– दुईतिहाइ बहुमतको यस सरकारले विकास र समृद्धिलाई द्रुतगतिमा अवलम्बन गर्नेछ र नागरिकको जीविकोपार्जनलाई सघाउने नयाँ–नयाँ अनि रुचिकर कार्यक्रमहरू अघिसार्नेछ । यहाँसम्म कि प्रतिपक्षीले समेत यो सरकारले केही गर्छ भने विपक्षी बेन्चबाट सक्दो सघाउनुपर्छ, काम गर्न दिनुपर्छ भन्ने सोचका साथ व्यवहार गरेको थियो । तर, आम–अपेक्षाविपरीत ओली नेतृत्वको नेकपा सरकारले विपरीत बाटो समातेको आभास सर्वत्र भएको छ । रेल, रकेट, पानीजहाजका कथा सुनाएर कतै जनताको विकासप्रतिको स्वाभाविक अपेक्षालाई छल्ने प्रयास त गरिँदै छैन भनी शङ्का गर्नुपर्ने नियतिमा पु¥याइदिएको छ, आमजनतालाई केपी नेतृत्वको सरकारले ।

लोकतान्त्रिक शासन पद्धतिले मात्रै आर्थिक वृद्धि र भौतिक विकासका लागि सकारात्मक वातावरण प्रदान गर्छ भन्ने मान्यता विश्वव्यापी मात्र नभई व्यवहारसिद्ध पनि हो । तर, लोकतान्त्रिक शासन पद्धतिविपरीत प्रतीत हुने मार्ग समातेर सरकारले नागरिक तप्कालाई झस्काएको छ । यतिबेला बाह्य समुदायको दृष्टिमा समेत शासकीय विश्वसनीयता गुमाउने लक्षण दर्शाइरहेको सरकारका प्रमुखले कवितामार्फत सुन्दर सपना र समृद्धिको भाका हालेको सन्दर्भ परिहासको विषय बन्ने खतरामा परेको छ ।