कविता गोष्ठीका साथ मनाइयो रेडिङमा २०५औँ भानु जयन्ती

कविता गोष्ठीका साथ मनाइयो रेडिङमा २०५औँ भानु जयन्ती


बेलायत । ग्रेटर रेडिङ नेपाली कम्युनिटी एसोसिएसन (GRNCA) द्वारा गत केही वर्षदेखि नियमित रुपमा मनाइँदै आएको भानु जयन्ती कविता प्रतियोगिता यस वर्ष पनि जुलाई १४ तारिखको दिन स्वतन्त्र कविता वाचन तथा कविता प्रतियोगिताका साथ भब्य र सभ्यता साथ सम्पन्न भएको छ ।

रेडिङ नेपाली समाजले गत २०१५ देखि नियमित रुपमा मनाऊन शुरु गरेको यो कार्यक्रमलाई आफ्नो वार्षिक क्यालेन्डरमा राख्नुका साथै भानु जयन्तीलाई कविता प्रतियोगिताको रुपमा मनाऊँदै आएको हो । (GRNCA) ले २०१६ सालमा गैरआवासीय नेपाली संगठन बेलायत NRNA UK को भाषा साहित्य विभागसँग सहकार्य गर्दै मनाएको थियो भने गत वर्ष साहित्य संगम युकेसँग सहकार्य गर्दै संयुक्त रुपमा मनाएको थियो । यस वर्ष पनि GRNCA र साहित्य संगम युकेले भानु जयन्ती संयुक्त रुपमा नै आयोजना गरेको थियो ।

भानुभक्तको तस्बिरमा माल्यार्पण गरी शुरुवात गरिएको ऊक्त कार्यक्रमको सभापतित्व रेडिङ नेपाली समाजका अध्यक्ष कृष्ण न्यौपानेले गर्नुभएको थियो भने प्रमुख अतिथि अक्षर अभियन्नतकार, गीतकार तथा संगीतकार किरण प्रधान हुनुहुन्थ्यो ।

कार्यक्रमको शुरुमा रेडिङ नेपाली समाजका अध्यक्ष न्यैपानेले ऊपस्थित सबैलाई स्वागत गर्नुभयो । साहित्य संगम युकेका संस्थापक अध्यक्ष विनोद अधिकारीले बेलायतमा भाषा साहित्यप्रतिको अभिरुचि र यसतर्फ बढ्दै गरेको मोह तथा रेडिङ नेपाली समाज र साहित्य संगम युकेको सहकार्यको बारेमा मन्तब्य ब्यक्त गर्दै नेपाली भाषा साहित्यमा आदीकवि भानुभक्त आचार्यको योगदानको बारेमा प्रकाश पार्नुभयो ।

यसरी नै प्रमुख अतिथिको आसनबाट गीतकार किरण प्रधानले आफ्नो अक्षर अभियानको बारेमा प्रकाश पार्दै गीत संगीत कला र भाषा साहित्यप्रति बेलायतवासी नेपालीहरुको लगाव र योगदानको कदर गर्दै यस्ता किसिमका विभिन्न कार्यक्रममा सहभागी हुन पाऊँदा आफुलाई ज्यादै खुसी लागेको बताउनुभयो ।

कार्यक्रमको पहिलो चरणमा रेडिङ नेपाली समाजका सदस्यद्वय स्थानीय होनहार युवाहरु डा. प्रवीण दाहाल र डा. बासु पौड्याललाई समाजको तर्फबाट अध्यक्ष न्यौपानेद्वारा फूलको गुच्छा र शुभकामना सन्देशका साथ सम्मान गरिएको थियो । ऊहाँहरु दुबैले हालै मात्र दुई छुट्टाछुट्टै विश्वविद्यालयबाट विद्यावारिधि हासिल गर्नुभएको थियो।

कार्यक्रमको मध्यभागमा १८ वर्षमुनि र १८ वर्षमाथिका गरी छुट्टाछुट्टै समूहमा विभाजन गरिएको कविता प्रतियोगिता आयोजना गरिएको थियो । कविता मूल्यांकन को लागि गैरआवासीय नेपाली संगठन युकेका भाषा साहित्य विभाग प्रमुख साहित्यकार तथा पत्रकार नारायण गाउँलेको नेतृत्वमा दुई सदस्य समिती बनेको थियो जसमा ऊहाँलाई स्थानीय साहित्यकार डा. प्रवीण दाहालले साथ दिनुभएको थियो ।

प्रतियोगितात्मक कवितावाचनको कार्यक्रमलगत्तै अप्रतियोगितात्मक कविताहरु पनि वाचन गरिएका थिए । कार्यक्रममा ललित दुधराज र प्रतिमा दुधराजले भानुभक्तसम्बन्धी सुमधुर गीत संयुक्त रुपमा प्रस्तुत गर्नुभएको थियो ।

प्रतियोगितामा भाग लिने कविहरुमा लक्ष्मी पौडेल, निर्मला न्यौपाने, लालबहादुर गुरुङ, प्रतिमा दुधराज, भरत पौड्याल, एलेक्स सापकोटा, ऋता न्यौपाने, आध्या भट्टराई र केनिशा गौतम थिए भने कार्यक्रममा अन्य थप १० वटा अप्रतियोगी कविताहरु पनि वाचन गरिएका थिए जसमा त्रिलोचन गौतम, बलदेव भट्ट, प्रतिमा दुधराज, लक्ष्मी पौड्याल, प्रमुख अतिथि किरण प्रधान, सभापति कृष्ण न्यौपाने, साहित्य संगम युके संस्थापक बिनोद अधिकारी, निर्णायक मण्डलीको तर्फबाट नारायण गाऊँले र संयोजक ओमकार अधिकारीले समेत कविता वाचन गरेका थिए ।

कविता वाचनकै क्रममा गैरआवासीय नेपाली संगठन युकेका भाषा साहित्य विभाग प्रमुख साहित्यकार तथा पत्रकार नारायण गाउँलेले निर्णायक मण्डलको तर्फबाट बोल्दै कविता मूल्यांकन गर्ने काम चुनौतीपूर्ण काम भएको र एकजनालाई अति राम्रो लागेको कविता अर्कोलाई सामान्य लाग्न पनि सक्ने भन्दै यसमा कुनै वैज्ञानिक मापनयन्त्र नभएको हुँदा नतिजा सबैलाई चित्त नबुझ्न सक्छ भन्दै आफुलाई विश्वास गरी यो महत्वपूर्ण जिम्मेवारी सुम्मेकोमा आयोजक दुवै सँस्थालाई धन्यवाद दिनुभयो ।

कार्यक्रमको अर्को चरणमा निर्णायक मण्डलबाट प्राप्त नतीजा कार्यक्रमका संचालक ओमकार अधिकारीले सुनाएका थिए भने रेडिङ नेपाली समाजका पुर्वअध्यक्षद्वय अर्जुन बस्नेत तथा मान बहादुर गुरुङ, कार्यक्रमका प्रमुख अतिथि किरण प्रधान, सभापति न्यौपाने र सहआयोजकको तर्फबाट विनोद अधिकारी र निर्णायक मण्डलको तर्फबाट नारायण गाऊँलेले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

१८ वर्षमुनिको समुहमा केनिशा गौतम प्रथम र आध्या भट्टराई दोस्रो, एलेक्स सापकोटा तृतीय भए भने ऋसव सापकोटाले सान्त्वना पुरस्कार प्राप्त ग्रेटर । त्यस्तै १८ वर्षमाथिको समुहमा भरत पौड्याल प्रथम र प्रतिमा दुधराजले दोस्रो र लालबहादुर गुरुङले तेस्रो स्थान प्राप्त गर्नुभएको थियो भने लक्ष्मी पौडेल र निर्मला न्यौपानेलेले सान्त्वना पुरस्कार प्राप्त गर्नु भएको थियो ।

प्रतियोगितामा भाग लिने सबैको लागि प्रशंसापत्र प्रदान गरिएको थियो भने उत्कृष्ट ठहरिएका दुबै समुहका प्रतियोगिहरुको लागि सुनौला ट्रफि पुरस्कारको रुपमा प्रदान गरिएको थियो ।

अन्त्यमा कार्यक्रममा उपस्थित सम्पुर्ण साहित्यिक मनहरूलाई रेडिङ नेपाली समाज र साहित्य संगम युकेको तर्फबाट धन्यवाद ज्ञापन गर्दै संयोजक अधिकारीले कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।