पाकिस्तानमा जन्तीबस दुर्घटनामा १७ को मृत्यु

पाकिस्तानमा जन्तीबस दुर्घटनामा १७ को मृत्यु


पाकिस्तानको सिन्ध प्रान्तमा जन्ती बोकेको एक बस दुर्घटना हुँदा त्यसमा रहेका १७ जनाको मृत्यु भएको छ ।

एक ट्रकले यात्रुबाहक बसलाई ठक्कर दिएपछि बस पल्टिएको थियो । सो दुर्घटनामा कम्तीमा १७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १३ जना घाइते भएका हुन् ।

सिन्धको एक स्थानीय सञ्चारमाध्यम उर्दूले दिएको जानकारीअनुसार यस घटनाको अनुसन्धान भइरहेको छ ।

यस दुर्घटनाको वरिष्ठ प्रहरी निरीक्षक जाहिद साहले पुष्टि गरेका छन् । प्रहरी अधिकारीहरूले दुर्घटनाको कारण धेरै यात्रु हुन सक्ने अनुमान गरेका छन् ।

उक्त दुर्घटनामा महिला र बालबालिका पनि रहेका जनाइएको छ । बस पल्टिएर तल खसेपछि उद्धारका लागि पनि कठिन भएको बताइएको छ ।

पाकिस्तानमा सन् २०११ देखि गरिएको एक सर्वेक्षणमा प्रत्येक वर्ष हुने सडक दुर्घटनामा चार हजार ५०० भन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको बताइएको छ ।

पाकिस्तानको तथ्यांक विभागले हालै सो तथ्यांक प्रकाशनमा ल्याएको हो ।

यहाँ हरेक वर्ष करिब ९ हजार सडक दुर्घटना हुने गरेको पनि सो विभागले थप जानकारी दिएको छ ।