नुवाकोटमा चार सय किसानलाई क्यान वितरण

नुवाकोटमा चार सय किसानलाई क्यान वितरण


भूकम्पबाट प्रभावित नुवाकोटका चार सय किसानलाई आज जिल्ला पशु सेवा कार्यालयले ट्यामी (दूध बोक्ने क्यान) वितरण गरेको छ ।

दूध बिक्री गर्दै आएका किसानलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनर्निर्माण कोषअन्तर्गत पशु सेवा कार्यक्रममार्फत प्राप्त अनुदान रकमबाट क्यान वितरण गरिएको हो ।

भूकम्पबाट क्षति व्यहोरे पनि पशुपालनलाई निरन्तरता दिँदै आएका किसानलाई एक–एक थान क्यान उपलब्ध गराएको पशु सेवा कार्यालयका प्रमुख खगेन्द्रराज भट्टले जानकारी दिए । सहकारी संस्थामार्फत माग भएर आएका तथा व्यक्तिगत रूपमा निवेदन दिएका ५३ किसानलाई डेरीसम्म दूध लैजान पाँच लिटर क्षमताको क्यान वितरण गरिएको हो ।

‘किसानलाई प्रोत्साहन गर्न क्यान उपलब्ध गराएका हौँ,’ भट्टले भने ।

पुनर्निर्माण कोषमार्फत यस वर्ष यहाँका भूकम्पपीडित ५० किसानलाई गोठ निर्माण, ५० किसानलाई पशु सुधार गोठ निर्माण, १२ किसानलाई कुखुराको खोर निर्माण, ३१ किसानलाई उन्नत जातको ब्याडको बोका तथा पाँच हजारभन्दा बढी किम्बु घाँसको बिरुवा वितरण गरिएको छ ।

जिल्ला पशु सेवा कार्यालयको तथ्यांकअनुसार यस वर्ष जिल्लामा २४ हजार ६९१ मेट्रिक टन दूध उत्पादन भएकामा ६ हजार ९५८ मेट्रिक टन दूध जिल्लाबाहिर बिक्री गरिएको थियो ।