व्यापार–द्वन्द्व हटाउन शक्तिराष्ट्रलाई ईयूको आग्रह

व्यापार–द्वन्द्व हटाउन शक्तिराष्ट्रलाई ईयूको आग्रह


युरोपेली युनियनले विश्वका शक्तिराष्ट्रहरूलाई व्यापारका क्षेत्रमा पछिल्लो समयमा देखा परिरहेको विवाद हटाउन आग्रह गरेको छ ।

युरोपेली युनियनका अध्यक्ष डोनाल्ड टस्कले सो आग्रह गरेका हुन् । उनले भने– विगतमा पनि यस्तो व्यापारका क्षेत्रमा युद्ध देखापरेकै हो, तर त्यसको परिणाम राम्रो निस्किएको छैन, त्यसैले यस्तो द्वन्द्व तुरुन्तै हटाउनु जरुरी छ ।

उनस् अगाडि भन्छन्– तपाईंहरूजस्तो शक्तिशाली राष्ट्रले त व्यापारजस्तो संवेदनशील विषयमा विवाद बढाउने होइन, बरु विवाद उत्पन्न भयो भने त्यसको समाधान गर्ने हो । उनको संकेत संयुक्त राज्य अमेरिका, रुस र चीनतर्फ थियो । पछिल्लो समयमा यी तीन देशबीच व्यापारका क्षेत्रमा युद्धकै संकेत देखिएको छ ।

एक–अर्काे देशमा आयात या निर्यात हुने सामानमा बढी मात्रामा कर लगाउने गरिएको छ भने कतिपय देशले यस्ता सामानको आयात–निर्यात नै बन्द गरेका छन् । अध्यक्ष टस्कले व्यापार क्षेत्रको विश्वव्यापी प्रचलन एवम् मान्यताको पालना गर्नु युरोपेली युनियन तथा ती शक्तिशाली देशको पनि कर्तव्य भएको बताए ।

चीनको राजधानी बेइजिङमा रहेका उनले सोमबार बिहान आयोजित कार्यक्रममा भने– अझै पनि द्वन्द्व समाधानका लागि समय छ, केही बिग्रिसकेको छैन । अध्यक्ष टस्कले सोमबार बिहानै बेइजिङमा चिनियाँ प्रधानमन्त्री लि खछ्याङसँग भेटवार्ता गरेका थिए । सो भेटपछि उनको यो प्रतिक्रिया आएको हो ।

उक्त भेटका क्रममा उनीहरूबीच हालैका दिनमा देखिएको यो व्यापार क्षेत्रको विवाद समाधानका लागि आवश्यक उपायबारे कुराकानी भएको बताइएको छ । उनीसँग युरोपेली युनियनका आर्थिक मामिला हेर्ने वरिष्ठ अधिकारीहरू पनि रहेका छन् । उनीहरू र चिनियाँ आर्थिक क्षेत्रका अधिकारीबीच पनि वार्ता भएको थियो ।

अमेरिका र चीनबीच पछिल्लो समयमा व्यापारको विषयमा विवाद उत्पन्न भएको छ । सो विवादका कारण दुई देशबीच वाकयुद्धसमेत चलिरहेको छ । शुरुमा अमेरिका आयात हुने चिनियाँ केही सामानमा अमेरिकाले पहिलेको तुलनामा करको मात्रामा भारी वृद्धि गरेको थियो भने पछि चीनले पनि अमेरिकी सामानमा त्यसै गरेको छ ।

यो विवाद पछि रुसतर्फ पनि सरेको छ । अमेरिकाले रुसी सामानमा पनि यसैगरी कर लगाएको थियो । पछि यो समस्याको पनि समाधानको सट्टा वाकयुद्ध नै चलेको बताइएको छ । सो विवादबारे दिएको प्रतिक्रियामा युरोपेली युनियनका अध्यक्ष टस्कले भने– विश्वले अहिले व्यापारका क्षेत्रमा विवाद होइन कि सुधार खाजेको छ, सुधार चाहेको छ त्यसैले समाधानतर्फ जाऊँ ।