रोकिएन पाकिस्तानमा चुनावी हिंसा

रोकिएन पाकिस्तानमा चुनावी हिंसा


पाकिस्तानमा यही जुलाई २५ मा हुन लागेको आमनिर्वाचनको प्रचारप्रसारका लागि आयोजना गरिएका विभिन्न राजनीतिक दलका कार्यक्रममा हिंसा व्यापक मात्रामा बढेको छ । यस्तो हिंसाको क्रम आइतबार पनि जारी रहेको र आइतबार राजधानी इस्लामावादकै एक सभामा बम आक्रमण भएको सिन्ह्वाले जनाएको छ ।

यस आक्रमणमा भएको हताहतको भने समाचार आएको छैन । गत शनिबार मात्र चुनावी हिंसाका घटनामा परी पाकिस्तानमा कम्तीमा १०५ जनाको मृत्यु भएको थियो ।

आइतबार बिहान इस्लामावादमा निर्वाचन प्रचारको लागि आयोजना गरिएको निर्वाचन सभामा बम हमला भएको समाचार प्राप्त भएको छ । उक्त आक्रमणमा परी दर्जनौँ व्यक्ति घाइते भएका छन् । तर त्यहाँ के कति जनाको मृत्यु भएको छ भन्ने बारेको पूर्ण विवरण भने आइसकेको छैन ।

शनिबार बलुचिस्तान प्रान्तको मास्तुङ जिल्लामा भएको घटनामा परी १०५ जनाको ज्यान गएको हो । त्यस्तै सो आक्रमणमा अरु १५० जना घाइते भएका थिए । यसमा परी मृत्यु हुनेमा एकजना स्थानीय नेतासमेत रहेका बताइएको छ ।

लडाकूको समूह इस्लामिक स्टेट (आइएस)ले आफ्नो वेभसाइटमार्फत् घटना आफूले गराएको जिम्मेवारी लिएको छ । पाकिस्तानमा जारी यो पछिल्लो हिंसाका लागि यहाँका आइएस अतिवादी जिम्मेवार रहेका छन् ।

पाकिस्तानमा पछिल्लो तीन दिनमा भएका विभिन्न घटनामा परी १३० भन्दा बढीको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् । यही जुलाइको अन्तिम साताका लागि आह्वान गरिएको संसदकोे निर्वाचनको मिति नजिकिँदै गर्दा हिंसाका घटनामा पनि वृद्धि भइरहेको बताइएको छ ।