मौलिक पहिचानको खोजीमा खस ‘महाजाति’

मौलिक पहिचानको खोजीमा खस ‘महाजाति’


■ इन्द्रबहादुर बराल

खस भन्नेबित्तिकै नेपाली समाजले नकारात्मक अर्थमा बुझ्ने गर्दथ्यो । सामान्यतया अरू कसैलाई खसालेर र होच्याएर आफू महान् र उचो बनाउने सन्दर्भमा खस जातिलाई खसेटो, खसिया वा खसिनी आदि भनेर होच्याउने या खिज्याउने प्रचलन अझै कताकति जीवितै छ । खस जातिलाई होच्याउन विशेष गरेर आफूलाई आर्य भन्न रुचाउने ब्राह्मणहरू नै बढी उद्यत देखिन्थे, देखिँदै छन् । तर, जब नेपालमा पहिचानको राजनीति उत्कर्षमा पुग्यो, त्यही समयदेखि खस जातिले पनि आफ्नो मौलिक पहिचानको खोजी शुरु गऱ्यो ।

प्रजातन्त्रको पुनस्र्थापनापछि यहाँका सेतामगुराली अर्थात् शर्पा, तामाङ, मगर, गुरुङ, राई, लिम्बूहरू पहिचानको राजनीतिले रङ्गिएर सडक र सदनमा देखिए । जातीय पहिचानको खोजीमा सडक र सदनमा आफ्ना आवाजलाई बुलन्द गर्नु स्वाभाविक थियो र हो पनि । यो हदसम्म खस जातिले ‘सेतामगुराली’लगायतका सामाजिक समूहहरूको माग र मुद्दामा कुनै चासो नै दिएन । प्रजातन्त्रमा स्वतन्त्रताको साथसाथै समानताको खोजी गर्नु प्रत्येक व्यक्ति वा सामाजिक समूहहरूको नैसर्गिक अधिकार हो । त्यसमा सबै क्लस्टर त्यत्तिकै सजग र सचेत हुनुपर्दथ्यो, यसअनुसार अलिकति भए पनि सचेतता देखियो ।

तर जातीय आन्दोलनबाट नेपालका विशेष गरेर मङ्गोल मूलका जातिलगायत अन्य समूहको राज्यमा समानुपातिक समावेशी प्रतिनिधित्व गराउन वा राज्यको मूल प्रवाहमा समाहित गर्न आदिवासी/जनजाति प्रतिष्ठान ऐन २०५८ ले मात्रै यहाँको आदिवासी/जनजातिहरू सन्तुष्ट भएनन् । अन्ततः गणतन्त्रको उदयपश्चात् उनीहरू (आदिवासी/जनजाति)ले राज्य पुनर्संरचनाको सङ्क्रमणकालमा जातीय पहिचानको आधारमा सङ्घीयताको मागमा सशक्त रूपले दबाब सिर्जना गर्न थाले ।

पहिलो संविधानसभाको पूर्ण अवधि जातीय पहिचानकारी सामाजिक समूह र त्यसलाई आफ्नो बलियो आधार ठानेको तत्कालीन माओवादी खस जातिप्रति अत्यन्तै अनुदार बन्दै गएको तथ्य घामजस्तै छर्लङ्गै छ । जब जातीयताको आधारमा प्रदेशको नामाङ्कन र अग्राधिकारको विषय चुलिँदै गयो, त्यही समयमा खस जातिलाई यस माटोका धर्तीपुत्र होइनन् भन्ने कुतर्कले निकै स्थान थियो । यसै मेसोमा खसजातिले पनि त्यस्तो अशोभनीय गतिविधिलाई नजिकबाट नियालिरहेको थियो ।

नेपालको संविधान २०७२ ले अलि कपटपूर्ण भाषा प्रयोग गरेर केही भ्रम सिर्जना गरिदिएको छ । त्यो के हो भने खस जाति लेखिनुपर्नेमा खस–आर्य लेखेर केही अलमल पारिदिएको छ । आज त्यही विषयलाई लिएर फेरि अनावश्यक चर्चा र बहसले समय बर्बाद गरिरहेको छ ।

त्यसो भए को हो आदिवासी र जनजाति भन्ने विषयमा बहस र छलफल जारी भयो । साथसाथै खस जातिमध्येको ठूलो जनसङ्ख्या ओगटेको जाति क्षत्रीहरू पनि क्रमशः सङ्गठित हुँदै गए । आदिवासी/जनजातिको परिभाषालाई नश्ल वा जातिको आधारमा एकथरी सामाजिक समूहहरू घुँडा धसेर लाग्न थाले । अर्काथरी भने आदिवासी/जाति कुनै जाति वा नश्लको आधार नभई तिनीहरूको आदिमता र आर्थिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक आधारमा हुनुपर्छ र हो पनि त्यही । यसरी आदिवासी/जनजाति भनिएका खस जातिबीच निकै चर्काचर्की बहस र छलफलहरू औपचारिक/अनौपचारिक रूपले भए । तर, खस के कुरामा सहमत र सचेत थिए भने कुनै पनि उत्पीडनमा परेका जाति वा सामाजिक समूहलाई राज्यको मूल प्रवाहमा समावेशी समानुपातिक सिद्धान्तअनुरूप ल्याउनुपर्छ । यस्तो विचार सामाजिक, राजनीतिक न्याय हो भन्ने कुरा आदिवासी/जनजातिले पनि महसुस गरेको देखिन्छ ।

शायद त्यसैकारणले खस महाजातिप्रति अत्यन्तै आक्रमण र तिक्ततापूर्ण रूपले देखिएका आदिवासी/जनजातिहरू शान्त भए र एउटा कहालीलाग्दो अन्तहीन यात्राले विश्राम पायो । संविधानसभाको पहिलो कार्यकाल खस महाजातिको लागि अँध्यारोकाल नै भन्दा पनि हुन्छ किनकि त्यो अवधिमा जातीयताका घीनलाग्दा खेलहरू अँध्यारा कुनाबाट भएका थिए । अन्ततः त्यस्ता घृणित खेल खेल्ने शक्तिलाई नेपाली जनताले शान्तिपूर्ण प्रक्रियाबाट किनारामा छाडिदियो । आज अस्तित्वको छटपटीले मुन्टो लुकाउन कहिले यता कहिले उता गर्नुपरेको छ । आखिर सबै अडान तिलाञ्जली दिन पऱ्यो । यसर्थ सिद्धान्तहीन यात्राले कहिल्यै पनि असल गन्तव्यतर्फ पुग्न सकिँदैन भन्ने यथार्थ सम्बद्ध सबै पक्षले बुझ्न जरुरी छ ।

माथि उल्लेखित विषयमा प्रवेश नै नगरी वा त्यसको विश्लेषण नै नभई खस महाजातिको मौलिक पहिचान भेट्टाउन गाह्रो हुन्छ । त्यसकारण माथि केही आदिवासी/जनजातिका विषयमा चर्चा गरिएको हो, जसको अभावमा खस जातिको मौलिक वा स्वतन्त्र पहिचानको खोजी अपूर्ण हुन्छ । हुन त कतिपय पाठकमा जिज्ञासा जाग्ला– को हो खस महाजाति ? त्यस जातिभित्र कुनकुन सामाजिक समूहपर्छ ? यस जिज्ञासाको निरूपण हुन आवश्यक पनि छ ।

नेपालको संविधान २०७२ ले अलि कपटपूर्ण भाषा प्रयोग गरेर केही भ्रम सिर्जना गरिदिएको छ । त्यो के हो भने खस जाति लेखिनुपर्नेमा खस–आर्य लेखेर केही अलमल पारिदिएको छ । आज त्यही विषयलाई लिएर फेरि अनावश्यक चर्चा र बहसले समय बर्बाद गरिरहेको छ । हुन त अझै पनि नेपाली समाजमा खस भन्ने शब्दलाई सम्मानपूर्वक नभई बाध्यतावश स्वीकार गरेको हो कि जस्तो भान पर्छ । यो सबै उच्चताबोधको कारण हो । खस र आर्यलाई एउटै डालोमा राखेर आफ्नो नाक जोगाउने प्रयत्न गरेको हो कि जस्तो देखिन्छ, केही कथित कुलीन जातिका अग्रजहरूले । तसर्थ जबसम्म खस जातिलाई आर्यरूपी जञ्जिरबाट मुक्ति दिलाइँदैन तबसम्म खस जातिको मौलिक पहिचान धुमिल नै रहन्छ ।

जबसम्म नेपालको संविधान २०७२ को भाग ८ धारा ८४ को उपधारा २ मा भएको ‘खस आर्य’बाट आर्य भन्ने शब्द हटाइँदैन वा खस ‘कमा’ आर्य लेखिँदैन तबसम्म खस महाजातिको मौलिक पहिचान धुमिल नै रहन्छ र मौलिक पहिचानको खोजीमा खस जातिको जिरह (दाबी) रहिरहन्छ ।

संविधानमा एकातिर खस र आर्य अलग–अलग बनाउन खोजेजस्तो देखिने, तर स्पष्टीकरणमा ‘खस आर्य’ भन्नाले क्षत्री, ब्राह्मण, ठकुरी, दशनामी लेखेर परिभाषित गर्ने दोहोरो मापदण्डले खसको मौलिक पहिचान धुमिल हुन गएको हो । त्यसकारण संविधानमा खसआर्य शब्द लेखाउन सफल नायकहरूले कुन कारण र मकसदले त्यसो गरिएको हो, स्पष्ट गर्न आवश्यक पर्दैन ? ‘खस महाजाति’ किन भनिएको हो भने यस जातिभित्र धेरै सामाजिक समूह अर्थात् जाति समूह पर्दछन् । जस्तो क्षत्री, बाहुन, ठकुरी, दशनामी, नाथयोगी, दमाई, कामी, सार्की, गाइने, वादीलगायतको सामूहिक नाम ‘खस’ हो । तर, संविधानमा खस आर्यको स्पष्टीकरणमा बेइमानीपूर्वक आफ्नै खस मूलका पहाडीया दलितहरूलाई उपेक्षा गरिनु आर्यरूपी षड्यन्त्र हो भन्दा अन्याय हुँदैन ।

जसरी आदिवासी/जनजाति प्रतिष्ठान ऐनमा ५९ जाति सूचीकृत छन्, त्यसरी नै खस महाजातिभित्र पहाडीया दलितहरू दमार्इं, कामी, सार्की, गाइने, वादी आदिलाई पनि विशाल हृदयले सम्मानपूर्वक राखिनुपर्छ । उनीहरू अर्थात् पहाडी दलितहरू पनि खस जातिभित्रका सम्मानित एवम् बलिया खम्बा हुन् जसलाई ‘खस महाजाति’मा समावेश गर्नुपर्ने उक्त जातिको अर्को मौलिक पहिचानको एउटा पाटो हो ।

यसर्थ, जबसम्म नेपालको संविधान २०७२ को भाग ८ धारा ८४ को उपधारा २ मा भएको ‘खस आर्य’बाट आर्य भन्ने शब्द हटाइँदैन वा खस ‘कमा’ आर्य लेखिँदैन तबसम्म खस महाजातिको मौलिक पहिचान धुमिल नै रहन्छ र मौलिक पहिचानको खोजीमा खस जातिको जिरह (दाबी) रहिरहन्छ । अतः यस विषयलाई खस जातिमध्येको क्षत्री र पहाडी दलितहरूले पनि विशेष पहल र प्रयत्न गर्न छोड्नुहुँदैन । अन्यथा आर्यरूप कालो बादलभित्र हराइने सम्भावना टड्कारो देखिन्छ । खस महाजातिको मौलिक पहिचानको खोजीकार्य तीव्र पार्नु अहिलेको पहिलो आवश्यकता पनि हो ।