मृत अवस्थामा भेटिए पोमनपाका महाशाखा प्रमुख

मृत अवस्थामा भेटिए पोमनपाका महाशाखा प्रमुख


२१ दिनअघि अर्थात् यही असार ९ गतेदेखि हरारहेका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव तनहुँमा भेटिएको छ । आज शनिबार बिहान ८ बजेको समयमा तनहुँको भिमाद नगरपालिका ६ स्थित सेतीनदी किनारमा तैरिरहेको अवस्थामा पौडेलको शव भेटिएको हो ।

असार ९ गते विहानै घरबाट हिँडेका पौडेलले महेन्द्र पुलस्थित सेती नदीमा हाम फालेको अनुमान गरिएको थियो । प्रहरीको निष्कर्ष पनि यही थियो ।

सेती नदी किनारमा मृत शरीर तैरिरहेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीमा खबर गरेका थिए । शव भेटिएको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर शव बाहिर निकाल्ने कार्य गरेको थियो । पौडेल हराएको लामो समय बितिसकेकाले शव गलेको अवस्थामा भेटिएको हो ।

शव भेटिएको जानकारी पाएलगत्तै परिवारका सदस्य तथा आफन्तजन भिमाद पुगेर शव पहिचान गरी परीक्षणका लागि पोखरास्थित गण्डकी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।