‘सिद्धार्थ साहित्य परिषदलाई प्रदेश प्रज्ञा प्रतिष्ठानमा रुपान्तरण गर्नुपर्छ’

‘सिद्धार्थ साहित्य परिषदलाई प्रदेश प्रज्ञा प्रतिष्ठानमा रुपान्तरण गर्नुपर्छ’


– पुनहरि बेल्बासे, भैरहवा

वि.सं. २०३८ देखि अनवरत रुपमा प्रगतिशील साहित्यिक चिन्तनमार्फत नेपाली भाषा साहित्य र कलाको संरक्षण, सम्बर्धन र सृजनामा लागिरहेको ५ नम्बर प्रदेशकै जेठो साहित्यीक संस्था सिद्धार्थ साहित्य परिषदलाई प्रदेशस्तरीय प्रज्ञा प्रतिष्ठानमा रुपान्तरण गर्न वरिष्ठ साहित्यकारहरुले आग्रह गरेका छन् ।

आदीकवि भानुभक्त आचर्यको २०५औँ जयन्तीको अवसरमा भैरहवामा आयोजित कार्यक्रममा बोल्दै प्रा.डा कपिलदेव लामिछानेले भने, ‘यस क्षेत्रमा साहित्यिक र प्राज्ञिक गतिविधिमा अग्रणी भूमिका खेलेको सिद्धार्थ साहित्य परिषदलाई प्रदेश सरकारले प्रज्ञा प्रतिष्ठानका रुपमा विकास तथा रुपान्तरण गरेमा फलदायी हुनेछ । ’

सोही अवसरमा पुर्वसांसद आदीत्यनारायण कसौधनले प्रदेश सरकारले अभ्यासमा ल्याउन थालेको प्रदेशस्तरीय प्रज्ञा प्रतिष्ठानका रुपमा परिषदलाई लिएमा अति उत्तम हुने विचार राखे भने अर्का पुर्वसांसद तथा प्रगतिशील लेखक संघका अध्यक्ष देवेन्द्र घिमिरेले सिद्धार्थ साहित्य परिषदले नेपाली भाषा साहित्यको क्षेत्रमा खेलेको भूमिका अतुलनीय भएको बताए ।

कार्यक्रममा बरिष्ठ साहित्यकार बालकृष्ण भट्टराईले साउन लागेसँगै प्रदेश सरकारको भूमिका प्रभावकारी पनि हुने हुँदा साविकको लुम्बिनी अन्चलमै साहित्यिक तथा भाषिक गतिविधीमा संस्थागत अगुवाई गरेको परिषदलाई प्राज्ञहरुको थलोमा परिणत गरेमा प्रभावकारी हुने बताए ।

सो अवसरमा कवि गिरी श्रीस मगरले हालको प्रज्ञा प्रतिष्ठानमा जस्तै सिद्धार्थ साहित्य परिषदमा स्वदेश तथा विदेशमा ख्याती प्राप्त साहित्यकार तथा प्राज्ञहरु सदस्य भएकोले प्रदेश स्तरमा गठन हुने प्रज्ञा प्रतिष्ठानको रुपमा परिषदलाई लिनुपर्नेमा जोड दिए ।

परिषदका अध्यक्ष डिल्लीराज भट्टराईले नेपाली भाषा साहित्य कलाको क्षेत्रमा विशिष्टकृत योगदान दिँदै आएको सिद्धार्थ साहित्य परिषदलाई प्रज्ञा प्रतिष्ठानको अगुवाई संस्थाको रुपमा लिएमा ५ नम्बर प्रदेशका प्राज्ञहरुको लागि राम्रो हुने तर्क राखे ।

संस्थाका सचिव नरेश केसीको सन्चालन तथा कार्यक्रम संयोजक लक्ष्मीप्रसाद अधिकारीको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा नारयण ज्ञवाली, मोती सुवेदी, अनुप बराल, सुभास रिजाल, मणिराम भट्टराई, शालिकराम उपाध्याय, कृष्णप्रसाद बस्याल, उदयराम पौड्याल, डा. दामोदर ढकाल, रामबहादुर श्रेष्ठ, सीता काफ्ले, तिलक लामिछाने लगायतले पनि मन्तब्य राखेका थिए । सो अवसरमा मुख्यमन्त्री शंकर पोखरेलले पठाएको शुभकामना सन्देश समेत सुनाइएको थियो । उक्त सन्देशमा ५ नम्बर प्रदेशमा परिषदले खेलेको भूमिका प्रशंसनीय भएको उल्लेख गर्दै आदीकवि भानुभक्त प्रति उच्च श्रद्धा व्यक्त गरिएको छ ।

भानुको योगदान प्रेरणादायी

आदीकवि भानुभक्त आचार्यले करिब दुई शताब्दी अगाडी दिएको योगदान वर्तमान परिवेशमा पनि उत्तिकै महत्वपुर्ण भएको ५ नम्बर प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा बातवरण मन्त्री लिला गिरीले बताएका छन् ।

२०५औं भानु जयन्तीको अवसरमा भैरहवामा आयोजित प्रभातफेरी कार्यक्रममा बोल्दै मन्त्री गिरीले भने, ‘मुलुकलाई अहिलेको परिवेशमा ल्याउन साहित्कारहरुले पुराएको योगदान महत्वपुर्ण छ । भानुभक्तका कृति कालजयी छन् । साहित्यकारहरुले मुलुक परिवर्तनकोलागी दिएको योगदानलाई राज्यले सधैं सम्मान दिइरहने छ । ’

प्रभातफेरीमा रुपन्देहीका सहायक प्रमुख जिल्लाअधिकारी नारायण पाण्डे, शसस्त्र प्रहरी बलका एसपी सुर्यकान्त सिलवाल, सिद्धार्थनगर लायन्स क्लब, सिद्धार्थनगर लायन्स क्लब अफ लोटस, भानु मावि, शसस्त्र प्रहरी बल, नेपाल प्रहरीको पश्चिम तालिम केन्द्र बुटवलको प्रहरी ब्यान्ड टोली, सनातन धर्म सेवा समितिलगायत विभिन्न संघसंस्थाका ब्यानरसहितको सहभागिता रहेको थियो । प्रभातफेरीमा सिद्धार्थ नगरका मेयर हरिप्रसाद अधिकारी, उपमेयर उमा काफ्ले लगायत वरिष्ठ साहित्यकारहरु, स्रष्टा एवं साहित्य अनुरागीहरुको व्यापक सहभागीता रहेको थियो । र्याली देवकोटा चौकबाट शुरु भई नयाँसडक, बुद्धचौंक, प्रभातपथ हुँदैं भानु माविमा रहेको आदीकवि भानुभक्तको अर्धकदको प्रतिमामा माल्यार्पण गरि समापन भएको थियो । प्रभातफेरीलाई सम्बोधन गर्दै सिनपाका मेयर हरिप्रसाद अधिकारीले सिद्धार्थनगरमा भाषा साहित्य र कलाको विकासको लागि विशेष महत्व दिइने जनाएका थिए ।

यसैबीच आदीकवि भानुभक्तका बाणी सार्वजनिक क्षेत्रमा हुने गरेका विकृति हटाउन प्रेरणादायी भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले जनाएका छन् । सिद्धार्थ साहित्य परिषद र सिद्धार्थ नगरपालिकाले आयोजना गरेको भानुजयन्ती विशेष समारोहमा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले भने ‘भानुभक्तले भोलीबादको विरोध गरे जस्तै हामी सबैले भोलीवादको अन्त्य नगरेसम्म देशमा सुशासन गर्न सकिँदैंन । अहिलेको २१औँ. शताब्दीहरुमा पनि हामी शुसान कायम गर्न सकेका छैनौँ, भ्रष्टाचारको जरा अन्त्य गर्न नसकिरहेको अवस्थामा आदीकवि भानुभक्तको वाणी स्मरणयोग्य भएको छ ।’ प्रजिअ रानाले मोतिराम भट्टले भनेजस्तै नेपाली साहित्यमा भानुलाई उछिन्ने स्रष्टा जन्मिने छैन भनाईमा सहमत भएको बताए ।

स्रष्टा सम्मान तथा कृति विमोचन

भानु जयन्तीको अवसरमा परिषदले विभिन्न राष्ट्रिय पुरस्कारबाट साहित्यकारहरुलाई सम्मान गरेको छ । सिद्धार्थनगरमा सम्पन्न कार्यक्रममा सिद्धार्थ साहित्य पुरस्कार रामबहादुर श्रेष्ठलाई, टेकबहादुर पन्थी स्मृति साहित्य पुरस्कार वरिष्ठ साहित्यकार बालकृष्ण भट्टराईलाई, सकला सिद्धार्थ वांगमय पुरस्कार शालिकराम पौड्यालको रुपन्देहीका प्रवन्ध काब्य कृतिलाई, विष्णुमाया हटुवाल स्मृति साहित्य पुरस्कार नारायण ज्ञवाली र सीता काफ्लेलाई जनही १० हजार नगद र सम्मान पत्रसहित प्रदान गरिएको हो । यसैगरी सिद्धार्थ साहित्य सम्मानबाट कृष्ण बस्याल, युवराज खनाल, गिरी श्रीस मगर, अम्बिका पाण्डे र धर्मराज भुसालाई गरिएको छ ।

सोही अवसरमा रामबहादुर श्रेष्ठको हाइकू संग्रह, डा. दामोदर ढकालको संस्कृत साहित्यको झलक समालोचना संग्रह, सीता काफ्लेको साटिएको सपना कविता संग्रह, तिलक लामिछानेको सुन्तली नाटक संग्रह, उदयराम पौड्यालको अमेरिका यात्रा भाग २ नियन्त्रणा संस्मरण पनि विमोचन भएको छ । विमोचित कृतिहरुको बारेमा हाईकुको भरत कुमार पोखरेल, समालोचनाको मणीराम भट्टराई, कविताको डा. लक्ष्मी पोखरेल, नाटकको प्रा.डा कपिल लामिछाने र नियात्राको तेजप्रसाद पन्थले समीक्षा गरेका थिए ।

सोही अवसरमा साढे ५ किलोमिटर दूरीको भानु साहित्यिक दौडमा प्रथम हुने सिद्धार्थनगरपालिका वडा नम्बर १२ शान्तिनगरका सुजन गुरुङ, द्धितीय हुने जिल्ला प्रहरी कार्यलय रुपन्देहीमा कार्यरत प्रहरी बलबहादुर पुन र तृतिय स्थान ओमसतिया गाउँपालिका वडा नम्बर ४ बालापुरका लक्ष्मण श्रीस थापालाई नगदसहित सम्मान गरिएको थियो । यसैगरी भानु विषयक वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने भानु माविको ओमिशा ओली, भैरहवा नमूना माविको प्रशंसा भण्डारी, तृतिय हुने संस्कृत विद्याश्रमको जनकल्याण दाहाल र सान्त्नवा हुने सुसंस्कृत माविको विमला मरासिनीलाई पनि पुरस्कृत गरिएको छ ।