समन्यायिक रुपमा प्रदेशको विकास : मन्त्री गुरुङ

समन्यायिक रुपमा प्रदेशको विकास : मन्त्री गुरुङ


गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेशको विकास समन्यायिक रुपमा अघि बढ्ने बताएका छन ।

अन्नपूर्ण गाउँपालिका कास्कीको चौथो गाउँसभाद्वारा स्वीकृत आर्थिक वर्ष २०७५-७६ का लागि वार्षिक बजेट प्रस्तुतीकरण कार्यक्रममा उनले समग्र प्रदेशको विकास सरकारको प्राथमिकतामा रहेको र त्यही अनुरुप बजेट विनियोजन गरिएको बताए ।

स्थानीय, प्रदेश र संघबीचको सहकार्यले मात्र समग्र राष्ट्रको समृद्धि सम्भव भएको बताउँदै उनले राज्यलाई कर तिर्नुपर्छ भन्ने भावनाका साथ स्वआयकर घोषणा गर्ने वातावरण तयार गरिनुपर्ने उल्लेख गरे ।

प्राकृतिक साधनस्रोतले सम्पन्न अन्नपूर्ण गाउँपालिकाले यिनै साधनस्रोतको अधिकतम उपयोग गर्नुपर्नेमा उनको जोड छ । अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले आर्थिक वर्ष २०७५-७६ का लागि ५० करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताउँदै सबै राजनीतिक दल र नागरिक समाजसँगको सहकार्यमा गाउँपालिकाको विकासलाई अघि बढाइने उल्लेख गरे ।

प्रदेशसभा सदस्य राजीव पहारीले अन्नपूर्ण गाउँपालिका प्राकृतिक सौन्दर्यका दृष्टिले विश्वका १० उत्कृष्ट गन्तव्य मध्येमा पर्ने धारणा राख्दै यसको समुचित विकासलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

नेपाली काँग्रेसका नेता एवम् राष्ट्रिय सभाका पूर्वसांसद शुक्रराज शर्माले अन्नपूर्ण गाउँपालिका पर्यटकीय सम्भावनायुक्त क्षेत्र भएको बताउँदै यसको प्रवद्र्धन एवम् भौतिक पूर्वाधार विकासका माध्यमबाट अघि बढ्नुपर्ने बताए ।